काठमाडौँ । सामाजिक सञ्जालमा असोज १७ गतेदेखि लगातार तीन दिन ठूलो वर्षा हुने भन्दै फैलिएको हल्लाप्रति जल तथा मौसम विज्ञान विभागले ध्यानाकर्षण गराएको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तत्काल त्यस्तो ठूलो तथा लगातार वर्षा हुने कुनै पूर्वानुमान नरहेको स्पष्ट पार्दै सामाजिक सञ्जालमा फैलिएका तथ्यहीन सूचनाको पछि नलाग्न आग्रह गरेको छ।
केही दिन लगातार वर्षा भएपछि पुनः ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा विभिन्न सामग्री फैलिएका थिए। तर मौसमको अवस्था परिवर्तनशील हुने भएकाले सामाजिक सञ्जालमा आएका अपुष्ट सूचनाभन्दा महाशाखाले जारी गर्ने नियमित मौसम पूर्वानुमान तथा बुलेटिनलाई आधार बनाउन आग्रह गरिएको छ। महाशाखाले अफवाह फैलाउने काम नगर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ।
पछिल्लो वर्षापछि सोमबार बिहानदेखि देशका अधिकांश स्थानमा मौसम खुलेको छ। बुधबार पनि देशका धेरै ठाउँमा मौसम सामान्यतया सफा रहेको छ। तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ।
हालको पूर्वानुमानअनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मौसमसम्बन्धी आधिकारिक जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको नियमित पूर्वानुमान तथा बुलेटिन हेर्न सकिन्छ। विभागले दैनिक मौसम पूर्वानुमान, विशेष मौसम पूर्वानुमान र अन्य मौसमी सूचना आफ्नो आधिकारिक माध्यमबाट सार्वजनिक गर्दै आएको छ।




