निजामती सेवामा महिला कर्मचारीलाई महिनावारी बिदा दिने प्रस्ताव

काठमाडौँ । सरकारले संसद्‌मा दर्ता गरेको ‘सङ्घीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा महिला निजामती कर्मचारीलाई महिनावारी अर्थात् रजस्वला बिदा दिने नयाँ व्यवस्था प्रस्ताव गरेको छ ।

विधेयकको बुँदा नम्बर १२५ मा निजामती कर्मचारीले पाउने विभिन्न बिदाको सूचीमा ‘महिनावारी/रजस्वला बिदा’ समावेश गरिएको हो । यससँगै सरकारी सेवामा कार्यरत महिला कर्मचारीका लागि महिनावारीका समयमा छुट्टै बिदाको कानुनी व्यवस्था गर्ने प्रस्ताव गरिएको छ ।

हाल प्रचलित निजामती सेवा कानुनमा महिला कर्मचारीका लागि बिरामी बिदा, प्रसूति बिदा तथा प्रसूति स्याहार बिदालगायतका सुविधा व्यवस्था भए पनि महिनावारीका लागि छुट्टै बिदाको व्यवस्था छैन । प्रस्तावित विधेयकले भने पहिलोपटक महिनावारीको अवस्थालाई समेत कर्मचारीको बिदासम्बन्धी व्यवस्थामा समेट्न खोजेको हो ।

विधेयक संसद्‌बाट पारित भएर ऐनका रूपमा कार्यान्वयनमा आएमा सरकारी सेवामा कार्यरत महिला कर्मचारीले महिनावारीको समयमा छुट्टै बिदा लिन सक्नेछन् । यसले महिनावारीका कारण हुने स्वास्थ्य तथा कार्यस्थलसम्बन्धी असहजतालाई सम्बोधन गर्ने उद्देश्य राखेको देखिन्छ ।

यद्यपि, प्रस्तावित बिदा कति दिनको हुने, बिदा लिनका लागि के–कस्तो प्रक्रिया अपनाउनुपर्ने तथा बिदाको प्रयोगसम्बन्धी विस्तृत व्यवस्था भने विधेयकको कार्यान्वयनसम्बन्धी नियमावली वा सम्बन्धित प्रावधानबाट स्पष्ट हुने विषय हो । हाल संसद्‌मा दर्ता भएको विधेयकमा भने महिनावारी/रजस्वला बिदालाई निजामती कर्मचारीले पाउने बिदाको सूचीमा समावेश गर्ने प्रस्ताव गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्