काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ताको खोजीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्म विशेष ‘टिमुरे टु त्रिवेणी’ अपरेशन सञ्चालनमा ल्याएको छ। नेपाल प्रहरीको विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्रमार्फत बाढी प्रभावित जिल्लाका प्रहरी युनिटलाई आवश्यक निर्देशन दिइएको छ। अपरेशनअन्तर्गत खोज तथा उद्धारमा तालिमप्राप्त कुकुरको प्रयोग, ड्रोन परिचालन, होल्डिङ सेन्टर व्यवस्थापन, समुदाय–प्रहरी साझेदारी, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण, पुनःस्थापना, डीएनए प्रोफाइलिङ र ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।
बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका तटीय क्षेत्रमा बगाइएका वा हराइरहेका मानिस जीवितै भेटिन सक्ने सम्भावनालाई प्राथमिकतामा राखेर नदी किनारा, भग्नावशेषलगायत क्षेत्रमा खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। कठिन भौगोलिक अवस्थाका कारण उद्धार टोली र केनाइन पुग्न नसक्ने स्थानमा ड्रोनमार्फत समेत खोजी भइरहेको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले कठिन भौगोलिक अवस्थालाई ध्यानमा राख्दै ड्रोन र केनाइनको प्रयोगमा विशेष जोड दिइएको बताउनुभयो। उहाँका अनुसार टिमुरेदेखि त्रिवेणीसम्म विशेष अपरेशन सञ्चालन गरी खोज तथा उद्धारलाई तीव्र पारिएको छ।
अपरेशनअन्तर्गत रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका प्रभावित क्षेत्रमा प्रहरीको सक्रियता बढाइएको छ। खोज तथा उद्धारसँगै शव सङ्कलन, घटनास्थल व्यवस्थापन, मुचुल्का, पोस्टमार्टम, शव पहिचानमा सहजीकरण तथा डीएनए परीक्षणका लागि नमुना सङ्कलनको कामसमेत भइरहेको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा फेला परेका शव वा शरीरका अङ्गको कानुनी प्रक्रिया पूरा गरी सुरक्षित व्यवस्थापन गर्न तथा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैंक कार्ड र महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात भेटिए सम्बन्धित धनीलाई हस्तान्तरण गर्न प्रहरीलाई निर्देशन दिइएको छ।
त्यस्तै, सडक अवरुद्ध भएका स्थानमा आवागमन सहज बनाउन सडक खुलाउने तथा सडक सञ्जाल नभएका क्षेत्रमा तुइनमार्फत सुरक्षित आवतजावतमा सहजीकरण गर्ने काम पनि भइरहेको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत स्थानीय युवा, जनप्रतिनिधि, महिला तथा अन्य सरोकारवालासँग समन्वय गरी खोज तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउने प्रहरीको योजना छ। यसअघि पनि नेपाल प्रहरीले भोटेकोशी बाढीपछि ठूलो संख्यामा जनशक्ति परिचालन गरी उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनको काम गर्दै आएको थियो।
प्रहरीले बाढी प्रभावित क्षेत्रमा अझै पनि जीवित व्यक्ति फेला पर्न सक्ने सम्भावनालाई उच्च प्राथमिकतामा राख्दै उपलब्ध प्रविधि, जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरी खोज तथा उद्धार जारी राखेको जनाएको छ।



