काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन्। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजेबाट सुरु भएको खेलमा नेपालले ब्याटिङ् रोजेको छ । दुवै टोली एसिसी प्रिमियर कपको उपाधि दोस्रोपटक जित्ने लक्ष्यसहित मैदानमा उत्रँदैछन्। नेपालले सन् २०२३ मा भएको प्रतियोगिताको पहिलो संस्करणमा युएईलाई सात विकेटले पराजित गर्दै उपाधि जितेको थियो। युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै दोस्रो संस्करणको उपाधि आफ्नो नाममा गरेको थियो।
यसपटकको फाइनल दुवै टोलीका लागि अझ महत्वपूर्ण छ। प्रतियोगिताको उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले नेपाल र युएई दुवै उपाधिका साथै एसिया कपको टिकट सुरक्षित गर्ने लक्ष्यमा छन्। जारी प्रतियोगितामा नेपालले समूह चरणदेखि सेमिफाइनलसम्म पाँच खेल खेलेकोमा चार खेलमा जित र एक खेलमा हार बेहोरेको छ। युएई भने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रूपमा फाइनलमा पुगेको हो। त्यसैले फाइनलमा युएईको अपराजित यात्रालाई रोक्दै उपाधि रक्षा गर्ने चुनौती नेपालसामु रहेको छ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १९ खेल भएका छन्। जसमा नेपालले ११ खेल जित्दा युएईले आठ खेलमा सफलता हात पारेको छ। पछिल्ला पाँच खेललाई हेर्दा पनि नेपाल तीन खेलमा विजयी भएको छ। नेपालले युएईसँग पछिल्लोपटक गत मेमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत प्रतिस्पर्धा गरेको थियो। लिग–२ का दुवै खेलमा नेपालले युएईलाई पराजित गरेको थियो। पछिल्ला खेलको यही प्रदर्शनले नेपाली टोलीको मनोबल उच्च रहे पनि फाइनलमा युएईलाई कमजोर आँक्न सक्ने अवस्था छैन।
एसिया कपमा स्थान बनाउने अवसरसमेत जोडिएकाले शनिबारको फाइनल नेपालका लागि उपाधि जित्ने मात्र नभई अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गर्ने अवसरका रूपमा हेरिएको छ। नेपालले बलिङ, ब्याटिङ र पछिल्ला खेलको लयलाई निरन्तरता दिन सके युएईविरुद्ध उपाधि उचाल्ने लक्ष्य पूरा गर्ने अपेक्षा गरिएको छ।




