नुवाकोट – भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगाएपछि प्रभावित बनेको सडक सम्पर्क पुनः जोडिएको छ। बाढीले पुल बगाएसँगै दुई नगरपालिकाबीचको आवागमन मात्र प्रभावित भएको थिएन, नुवाकोटलाई धादिङ हुँदै रसुवागढीसँग जोड्ने महत्वपूर्ण ‘लाइफलाइन’समेत टुटेको थियो। भीषण बाढीका कारण घर, व्यवसाय तथा अन्य सम्पत्ति गुमाएका नागरिकका लागि आवतजावतको मुख्य पुलसमेत बग्दा दैनिक जीवन थप कठिन बनेको थियो। त्यसपछि सरकारले देवीघाटमा वैकल्पिक एक्रोब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्दै नेपाली सेनालाई जिम्मेवारी दिएर काम अघि बढाएको थियो। नेपाली सेनाले दिनरात काम गर्दै पाँच दिनमै ५७ दशमलव ९ मिटर लामो एक्रोब्रिज निर्माण सम्पन्न गरेको हो।
बिहीबार बेलुकादेखि देवीघाटको एक्रोब्रिजबाट सबै प्रकारका सवारीसाधन सञ्चालनमा आएका छन्। पुल सञ्चालनमा आएसँगै बाढीका कारण लामो तथा घुमाउरो बाटो प्रयोग गर्न बाध्य स्थानीयवासीलाई आवतजावतमा ठूलो राहत मिलेको छ। बाढीले क्षतविक्षत बनाएको जनजीवनबीच छोटो समयमै पुल सञ्चालनमा आएपछि स्थानीयवासीमा पुनः आशा पलाएको छ।
बेलकोटगढी नगरपालिका–८ जिलिङका सौगात पुडासैनीले बाढीले मन छियाछिया पारे पनि पाँचौँ दिनमै देवीघाटमा पुल बनेपछि केही हदसम्म राहत महसुस भएको बताउनुभयो। उहाँका अनुसार पुल नहुँदा नजिकैको गाउँघर जानसमेत निकै कठिन भएको थियो। “भोटेकोशी बाढीले नजिकै रहेको गाउँघर फर्किन धौधौ भइरहेको थियो। आज नेपाली सेनाले छोटो समयमै पुल तयार पारेपछि बाढीले छियाछिया परेको मनमा केही हदसम्म भए पनि खुसी महसुस भएको छ,” उहाँले भन्नुभयो।
पुल नहुँदा घुमाउरो बाटो प्रयोग गरेर घर पुग्न दुई–तीन घण्टासम्म लाग्ने गरेको उहाँले बताउनुभयो। “देवीघाटमा पुल नहुँदा घुमाउरो बाटो प्रयोग गरेर घर पुग्नै दुई–तीन घण्टा लाग्ने गथ्र्यो। तर, अहिले पुल बनेपछि २५ मिनेटमै घर पुगिन्छ,” पुडासैनीले भन्नुभयो।
बेलकोटगढी नगरपालिका–८ ढुङ्गानेगाउँका मनोज तामाङले पनि पुल निर्माणपछि आवतजावत निकै सहज भएको बताउनुभयो। “भोटेकोशीको बाढीले पुल बगाउँदा सर्वस्व नै गुमाएजस्तो अनुभव भएको थियो,” उहाँले भन्नुभयो, “पुल बनेपछि भने आशा पलाएको छ।”
नेपाली सेनाका रथी रञ्जित थापाका अनुसार पुल निर्माणका लागि ५५ जना प्राविधिक दिनरात खटिएका थिए। महत्वपूर्ण सडक सम्पर्क पुनःस्थापित गर्न नेपाली सेनाले तीव्र गतिमा काम गरेको बताउँदै उहाँले ७२ घण्टे कार्यअवधिमा नै पुल निर्माणको मुख्य काम सम्पन्न गरिएको जानकारी दिनुभयो। देवीघाटमा भदौ २० गतेदेखि पुल निर्माण सुरु गरिएको थियो। “हामीले काम सुरु गरेको पाँच दिन भए पनि कार्यअवधि भने ७२ घण्टाभन्दा धेरै लागेको छैन,” रथी थापाले भन्नुभयो। उहाँका अनुसार पुल निर्माणपछि सर्वसाधारण तथा सवारीसाधन सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ।
नेपाली सेनाले प्राविधिक परीक्षण सम्पन्न गरेपछि पुल सञ्चालनमा ल्याएको हो। विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले छोटो समयमै पुल निर्माण हुनु बाढी प्रभावित नागरिकका लागि महत्वपूर्ण राहत भएको बताउनुभयो। “नेपाली सेनाको अथक प्रयासले छोटो समयमा नै पुल तयार भयो। यो पुल बनेसँगै पृथ्वीराजमार्गसँग टुटेको सम्पर्क जोडिएको छ,” उहाँले भन्नुभयो। नगरपालिकाले पनि पुल निर्माणका क्रममा आवश्यक समन्वय र सहकार्य गरेको जनाएको छ। पुल निर्माण नेपाली सेनाको १४ नम्बर बाहिनी अड्डाअन्तर्गतको ब्रिजिङ युनिटले गरेको हो।
गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजना, विदुरका योजना प्रमुख कृष्णनाथ ओझाका अनुसार यसअघि देवीघाटको पुलको करिब ५५ मिटर लामो बक्स गर्डर बाढीले भत्काएकाले त्यही स्थानमा एक्रोब्रिज जडान गर्न सहज भएको थियो। उहाँका अनुसार अहिले रातोमाटे क्षेत्रमा केही कटिङको काम बाँकी रहेकाले त्यसलाई समेत मर्मतसम्भार गरी सडक पूर्ण रूपमा सहज बनाउने तयारी भइरहेको छ।
नेपाली सेनाको १४ नम्बर बाहिनी अड्डाका बाहिनीपति जगदीश खड्काका अनुसार देवीघाटमा जडान गरिएको एक्रोब्रिज सेनाले गजुरीमा रणनीतिक जगेडा पुलका रूपमा भण्डारण गरेर राखेको थियो। बाढीपछि तत्काल आवश्यकता देखिएपछि गजुरीबाट पुल ल्याएर तादी खोलामा फिटिङ गरी सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो।
नेपाली सेनाका प्रमुख सेनानी करुणबहादुर थापाका अनुसार अमेरिकन प्रविधिमा आधारित एक्रोब्रिज गुणस्तरीय तथा उच्च भारवहन क्षमताको हुन्छ। उक्त पुलको भारवहन क्षमता ६० टन रहेको छ। पुल सञ्चालनमा आएसँगै भोटेकोशी बाढीका कारण टुटेको महत्वपूर्ण सडक सम्पर्क पुनःस्थापित हुनुका साथै नुवाकोटका प्रभावित क्षेत्रका नागरिकको दैनिक आवतजावतमा समेत सहजता आएको छ।



