भोटेकोशी बाढीमा बेपत्ता इन्जिनियर दम्पती र दुई सन्तानको कुशको शव बनाएर अन्तिम संस्कार

बागलुङ – भोटेकोशी बाढीपछि १६ दिनसम्म बेपत्ता रहेका इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार हिन्दू परम्पराअनुसार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ। त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९, तित्याङका ३३ वर्षीय इन्जिनियर राजेश शर्मा पौडेल, उनकी ३१ वर्षीया श्रीमती प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षीया छोरी अदिति बाढीपछि बेपत्ता भएका थिए। १६ दिनसम्म खोजी गर्दा पनि चारै जनाको अवस्था पत्ता लाग्न नसकेपछि अभिभावकले हिन्दू संस्कारअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्।

बेपत्ता इन्जिनियर दम्पतीका आफन्त विष्णु शर्माका अनुसार राजेश पौडेल परिवारका एकमात्र छोरा हुनुहुन्थ्यो। चारै जना एकैपटक बेपत्ता भएपछि परिवार लामो समयसम्म उनीहरू सकुशल भेटिने आशामा खोजी तथा उद्धारको प्रतीक्षामा रहेको थियो। तर लामो समयसम्म कुनै जानकारी प्राप्त नभएपछि अन्ततः धार्मिक तथा पारिवारिक संस्कारअनुसार अन्तिम संस्कार गर्नुपरेको आफन्तले बताएका छन्।

यसैबीच, भोटेकोशी बाढीपछि त्रिशूली हाइड्रोपावर तथा त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङका १६ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेपत्तामध्ये तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक तथा त्रिशूली–३ बी आयोजनामा कार्यरत बागलुङ नगरपालिकाका चार जना रहेका छन्।

प्रहरीका अनुसार बेपत्ता व्यक्तिहरूको खोजी तथा सम्भावित स्थानमा उद्धार टोली परिचालन गर्ने कार्य जारी रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्