हङकङसँग १५ रनले हार्‍यो नेपाल, समूह विजेता बन्दै सेमिफाइनलमा

KLANG, MALAYSIA - SEP 08: Pictures from the match between Nepal and Hong Kong, China held at the Bayuemas Oval on September 08, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ। हारसँगै प्रतियोगितामा नेपालको लगातार तीन खेलको विजयी यात्रा रोकिएको छ। यद्यपि, नेपाल रनरेटका आधारमा समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमा अलआउट भयो। नेपालका लागि इशान पाण्डेले ९० रनको उत्कृष्ट पारी खेले। उनले १०६ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै, आसिफ शेखले ४४, दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ र गुल्शन झाले २० रन बनाए।

हङकङका लागि एजाज खानले सर्वाधिक चार विकेट लिए। यासिम मुर्ताजाले दुई तथा किन्चित देवांग शाह, नसरुल्ला राना र अतिकुल इक्बालले समान एक–एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २६१ रन बनाएको थियो। हङकङका बाबर हायातले अविजित ११७ रन बनाए। उनले १२७ बलमा सात चौका र सात छक्का प्रहार गरे। शाहिद वासिफले ४५ तथा एहसान खानले अविजित ३५ रन बनाए।

नेपालका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए भने शेर मल्लले तीन विकेट लिए। नेपालले समूह चरणमा यसअघि बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो। चार खेलबाट समान ६ अंक जोडेको नेपाल राम्रो रनरेटका आधारमा समूह विजेता बनेको हो। हङकङ पनि उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ। अब सेमिफाइनलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ भने हङकङले यूएईसँग खेल्नेछ। दुवै सेमिफाइनल बिहीबार हुनेछन्।

प्रतियोगिताको उपाधि विजेताले आगामी वर्ष आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्