डीआईजी दीपेन्द्र शाहको कमाण्डमा एपीएफ इन्टेलिजेन्सको ‘बिग हिट’, १ लाख ६ हजारभन्दा बढी ट्रामाडोल बरामद

काठमाडौँ  – सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोले लागूऔषधविरुद्धको कारबाहीलाई तीव्र बनाउँदै ललितपुरबाट ठूलो परिमाणमा ट्रामाडोल बरामद गरेको छ। इन्टेलिजेन्स ब्युरोका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपेन्द्र शाहको कमाण्डमा परिचालित विशेष टोलीले एकै दिन ललितपुरका विभिन्न स्थानमा कारबाही गरी १ लाख ६ हजार ५ सय क्याप्सुल ट्रामाडोल बरामद गरेको हो।
प्रहरीका अनुसार नेपालमा ‘केजीएफ च्याप्टर–२’ नामबाट ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको सूचनाका आधारमा इन्टेलिजेन्स ब्युरोले यसअघि पनि विशेष अपरेसन सञ्चालन गर्दै आएको थियो। सोही सञ्जालमाथिको पछिल्लो अनुसन्धान तथा सूचनाका आधारमा डीआईजी शाहको कमाण्डमा टोली परिचालन गरिएको हो।भदौ २२ गते दिउँसो करिब ३ः३० बजे विशेष सूचनाका आधारमा ललितपुर महानगरपालिका–९ च्यासलमा कारबाही गर्दा सुनसरीको धरान–१७ घर भई हाल सातदोबाटोमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय सुरेन राई र ललितपुर महानगरपालिका–१२ घर भई हाल शंखमुलमा बस्दै आएका ३२ वर्षीय सुजित देउलालाई नियन्त्रणमा लिइएको थियो।

उनीहरूको साथबाट ५८ बक्समा रहेको १ हजार ७ सय ४० फाइल अर्थात् १७ हजार ४ सय क्याप्सुल ट्रामाडोल बरामद गरिएको थियो। उनीहरूले प्रयोग गरेको आशंका गरिएको बा.६१ प २३०९ नम्बरको होन्डा डिओ स्कुटरसमेत नियन्त्रणमा लिइएको छ।
च्यासलमा भएको कारबाहीपछि सोही दिन साँझ करिब ७ः५५ बजे इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा ललितपुर महानगरपालिका–७ स्थित डुपाक क्षेत्रमा थप कारबाही गरिएको थियो।
त्यहाँ काभ्रेको पनौती नगरपालिका–१ पर्खालचौर घर भएका करिब ४२ वर्षीय अर्जुन भुजेलको कोठामा खानतलासी गर्दा सुत्ने खाटमुनि रहेको सोकेशमा लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा ट्रामाडोल फेला परेको थियो। उक्त स्थानबाट ८९ हजार १ सय क्याप्सुल ट्रामाडोल बरामद भएको प्रहरीको विवरण छ। कारबाहीका क्रममा ट्रामाडोलसँगै दुई थान एन्ड्रोइड मोबाइल, एक थान साधारण मोबाइल, नगद ६ हजार ५ सय ५ रुपैयाँ र सुनजस्तो देखिने पहेँलो धातुको पोतेसहितको एक थान तिलहरी समेत बरामद गरिएको छ। यसरी च्यासल र डुपाकबाट गरी एकै दिन १ लाख ६ हजार ५ सय क्याप्सुल ट्रामाडोल बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई लागूऔषधको स्रोत, कारोबार, भण्डारण तथा वितरण सञ्जालबारे थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्