काठमाडौँ – भोटेबहाल तयारी पोसाक उत्पादक तथा बिक्रेता संघले बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–३, देवीघाट क्षेत्रमा पुगेर राहत तथा अत्यावश्यक सामग्री वितरण गरेको छ।
भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि संघले आफ्ना सदस्यबाट स्वैच्छिक सहयोग रकम, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री संकलन गरी राहत वितरण गरेको हो। संघका अध्यक्ष विष्णुप्रसाद गौतमको नेतृत्वमा गएको टोलीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी देवीघाटका ५० प्रभावित परिवारलाई प्रत्यक्ष रूपमा राहत सामग्री हस्तान्तरण गरेको जनाएको छ।

राहतस्वरूप १० बोरा लत्ताकपडासहित ५० थान प्रेसर कुकर, ५० थान कराई, २०० थान थाल, १०० थान कचौरा, ५० थान चक्कु, २५० थान गिलास, ५० थान पन्यू तथा आवश्यक चम्चालगायत भाँडाकुँडा वितरण गरिएको थियो। त्यस्तै प्रभावित परिवारका लागि स्टिलको बाटा, डाडु–पन्यू, सेनेटरी प्याड, सेनिटाइजरलगायत दैनिक जीवनमा आवश्यक पर्ने अन्य सामग्रीसमेत उपलब्ध गराइएको संघले जनाएको छ।
संघका अनुसार वितरण गरिएको सामग्रीमध्ये भाँडाकुँडा र खाना पकाउने सामग्री एक पाँच सदस्यीय परिवारलाई आवश्यक पर्ने गरी उपलब्ध गराइएको थियो। राहत सामग्री पीडित परिवारको हातमै पुग्ने गरी वितरण गरिएको र स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा वास्तविक प्रभावित परिवार पहिचान गरी सहयोग गरिएको बताइएको छ।

राहत वितरणमा भोटेबहाल तयारी पोसाक उत्पादक तथा बिक्रेता संघका अध्यक्ष विष्णुप्रसाद गौतमसहित सल्लाहकार, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। भोटेबहालबाट अध्यक्ष कुसुम महर्जन तथा राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष हरि गौतमलगायतको टोली पनि स्थलगत रूपमा पुगेर राहत सामग्री हस्तान्तरणमा सहभागी भएको जनाइएको छ।
संघले राहत संकलनका क्रममा आफूहरूमाथि विश्वास गरेर अपेक्षा गरेभन्दा बढी सहयोग जुटाइदिने सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेको छ। संघले सहयोगीहरूले दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक लिँदै संकलित सामग्री वास्तविक बाढीपीडित परिवारसम्म जिम्मेवार र पारदर्शी ढंगले पुर्याइएको जनाएको छ।




