काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सडकबाट नवयुवाले उठाएका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनुभएको छ । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सभापति लामिछानेले उक्त आन्दोलन कुनै राजनीतिक दल विशेषको आह्वानमा नभई स्वतःस्फूर्त जागरणका रूपमा भएको बताउनुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘हिजो सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ । र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ ।’ लामिछानेले जेनजी आन्दोलनलाई कुनै पनि राजनीतिक दल वा नेताले आफ्नो सङ्कुचित राजनीतिक स्वार्थका लागि प्रयोग गर्न नहुने बताउनुभएको छ । उहाँका अनुसार आन्दोलन पूर्णतः स्वस्फूर्त जागरण थियो ।
ठीक एक वर्षअघि नेपाली इतिहासमा नयाँ जागरणको विस्फोट भएको स्मरण गर्दै उहाँले भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताले सिर्जना गरेको निराशाविरुद्ध सचेत युवा पुस्ता सडकमा उत्रिएको उल्लेख गर्नुभएको छ । ‘एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका हामीलाई परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो,’ उहाँले भन्नुभएको छ, ‘भदौ २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् ।’ लामिछानेले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिप्रति सम्मान व्यक्त गर्नुभएको छ । साथै, राज्यले पीडित परिवारको उचित हेरचाह, घाइतेहरूको पूर्ण उपचार तथा दीर्घकालीन पुनःस्थापनाको दायित्व पूरा गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले युवा, नागरिक समाज र आम नागरिकलाई रचनात्मक खबरदारी तथा कार्यसम्पादनको निरन्तर समीक्षा गर्नसमेत आग्रह गर्नुभएको छ । नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्दै विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट आफूहरू विचलित नहुने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।



