काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ६० लाख रुपैयाँ सहयोग गरेको छ । कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठका अनुसार संस्थाले सामाजिक उत्तरदायित्व तथा मानवीय सहयोगस्वरूप ५० लाख रुपैयाँ र कर्मचारीको तलबबाट कट्टा गरी संकलित १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको हो । विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा प्रभावित नागरिकको तत्काल राहत तथा दीर्घकालीन पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको कर्पोरेशनले जनाएको छ ।
कर्पोरेशनले बाढीपहिरो प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति समेत गरिरहेको जनाएको छ । विपद्का कारण कतिपय क्षेत्रमा नियमित आपूर्ति प्रभावित हुन सक्ने भएकाले नागरिकको दैनिक आवश्यकतासँग जोडिएका वस्तुको सहज उपलब्धतालाई प्राथमिकता दिइएको कर्पोरेशनको भनाइ छ ।
कर्पोरेशनले विपद्को यस कठिन घडीमा नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियानप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको सहयोगका लागि निजी तथा सार्वजनिक क्षेत्रबाट निरन्तर सहकार्य आवश्यक रहेको जनाएको छ । बाढीपहिरोबाट प्रभावित परिवारलाई तत्काल राहतसँगै सुरक्षित पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा समेत सहयोग पुग्ने गरी सहकार्यलाई निरन्तरता दिने कर्पोरेशनले जनाएको छ ।



