नारायणगढ-मुग्लिन सडक आंशिक बन्द, यस्तो छ सवारी सञ्चालनको समय

File Photo

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि आंशिक रूपमा बन्द गरिएको छ। मुग्लिनबजार नजिकैको तुइन खोलामा पहिरो रोकथाम तथा माटो कटानको काम गर्नुपर्ने भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले निश्चित समयका लागि सवारी आवागमन रोक्ने व्यवस्था गरेको हो। प्रशासनका अनुसार मुग्लिन–काठमाडौं सडकखण्डको कृष्णभीरमा सडक मर्मत तथा नयाँ ट्र्याक खोल्ने काम भइरहेकाले त्यहाँ सवारी आवागमन प्रभावित छ। सोही कारण नारायणगढ-मुग्लिन सडकमा सवारीको चाप कम भएको समयको सदुपयोग गर्दै तुइन खोला क्षेत्रमा पहिरो व्यवस्थापनको काम अघि बढाउन लागिएको हो।

नयाँ व्यवस्थाअनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म, ८ः३० देखि १०ः३० बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म, दिउँसो १ः३० देखि ३ः३० बजेसम्म र दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द रहनेछ। यसबीच बिहान ८ देखि ८ः३० बजेसम्म, १०ः३० देखि ११ बजेसम्म, दिउँसो १ देखि १ः३० बजेसम्म, ३ः३० देखि ४ बजेसम्म र साँझ ६ बजेपछि सडक खुला रहने प्रशासनले जनाएको छ।

तुइन खोलामा समय–समयमा पहिरो खस्ने भएकाले सम्भावित रूपमा खस्न सक्ने माथिल्लो भागको माटो तथा चट्टान पन्छाएर पहिरो व्यवस्थापन गर्ने उद्देश्यले काम गर्न लागिएको हो। कृष्णभीरमा सडक मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सहज नभएसम्म तुइन खोला क्षेत्रमा यही कार्यतालिकाअनुसार सवारी आवागमन आंशिक रूपमा रोक्ने व्यवस्था लागू हुने जनाइएको छ। प्रशासनले यात्रु तथा चालकलाई कार्यतालिकाअनुसार यात्रा व्यवस्थापन गर्न आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्