काठमाडौँ – संस्थागत विद्यालय सञ्चालकहरूको मञ्च (फिजम)को पाँचौँ अधिवेशनबाट सुनिल केसी अध्यक्षमा सर्वसम्मत निर्विरोध निर्वाचित हुनुभएको छ। अधिवेशनले केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित अध्यक्ष केसीले आफूलाई फिजमको अध्यक्षजस्तो गरिमामय जिम्मेवारीमा सर्वसम्मत निर्विरोध निर्वाचित गराएकोमा अध्यक्ष मण्डल, निर्वाचन मण्डल, निवर्तमान कार्यसमिति, सदस्य विद्यालय तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले आगामी कार्यकालमा संस्थागत विद्यालयका साझा मुद्दा, शैक्षिक सुधार तथा विद्यालय सञ्चालकहरूको हितका विषयमा प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
अधिवेशनबाट उपाध्यक्षमा जया ढकाल, सचिवमा विष्णु ओली र सह-सचिवमा झबिन्द्र खड्का चयन हुनुभएको छ। त्यस्तै कोषाध्यक्षमा चक्रमणि राई र सह-कोषाध्यक्षमा गणेश भट्टराई निर्वाचित हुनुभएको छ। यसैगरी सदस्यहरूमा बिपिन कर्ण, रनिस भट्टराई र राजु रिमाल चयन हुनुभएको छ। नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष केसीले फिजमलाई थप सशक्त र प्रभावकारी संस्थाका रूपमा अघि बढाउन सबै सदस्य विद्यालय तथा सरोकारवालाको सहयोग आवश्यक रहेको बताउनुभएको छ।
नयाँ कार्यसमितिले संस्थागत विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालय सञ्चालकका साझा समस्या समाधान, सम्बन्धित निकायसँगको समन्वय तथा संस्थागत विद्यालय क्षेत्रको समग्र विकासका लागि पहल गर्ने अपेक्षा गरिएको छ। अध्यक्षमा निर्वाचित केसी बेष्ट ग्रुप भीजन इंग्लिस सेकेण्डरी स्कुल, पेप्सीकोला काठमाडौँका संस्थापक समेत हुन् ।




