हैजाको जोखिम बढेपछि रसुवा पठाइयो २१ हजार डोज खोप

काठमाडौँ – बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजाविरुद्धको खोप रसुवा पठाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हैजाको जोखिमलाई मध्यनजर गर्दै रसुवाका लागि २१ हजार डोज हैजाविरुद्धको खोप पठाइएको हो।मन्त्रालयका अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को सहयोगमा प्राप्त उक्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आज बिहान रसुवा पठाइएको हो। बाढी तथा पहिरोका कारण खानेपानीका मुहान, पाइपलाइन तथा वितरण प्रणालीमा क्षति पुगेपछि दूषित पानीका कारण हैजा लगायतका पानीजन्य रोग फैलिन सक्ने जोखिम बढेको छ।

स्वास्थ्यमन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण र रोकथामका लागि आवश्यक औषधि, खोप, स्वास्थ्य सामग्री तथा अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको थियो। सोही निर्देशनअनुसार प्रभावित क्षेत्रमा खोप तथा आवश्यक स्वास्थ्य सामग्री पठाउने कामलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा रोगको रोकथाम, शीघ्र पहिचान तथा समयमै उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको जनाएको छ। विशेषगरी खानेपानीका स्रोत तथा वितरण प्रणालीमा क्षति पुगेका स्थानमा सरसफाइ, सुरक्षित खानेपानीको प्रयोग र स्वास्थ्यसम्बन्धी सावधानी अपनाउन आवश्यक रहेको मन्त्रालयको भनाइ छ। बाढीपछि प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिमसमेत बढ्ने भएकाले सम्भावित सङ्क्रमण नियन्त्रणका लागि निगरानी तथा स्वास्थ्य सेवा विस्तार गरिएको मन्त्रालयले जनाएको छ। हैजा लगायत पानीजन्य रोगको लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्