काठमाडौँ – इन्डोनेशियामा ज्वालामुखी विस्फोट भएपछि करिब १ लाख ५० हजार यात्रु अलपत्र परेका छन्। ज्वालामुखी विस्फोटपछि उडान सुरक्षालाई ध्यानमा राख्दै इन्डोनेशियाली अधिकारीहरूले ६ वटा विमानस्थल अस्थायी रूपमा बन्द गरेका छन्। ‘अनाक क्राकाताउ’ द्वीपमा आज बिहान ज्वालामुखी विस्फोट भएपछि सबैभन्दा पहिले सोकार्नो–हाट्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको थियो। यातायात मन्त्री डुडी पुर्वागान्धीका अनुसार ज्वालामुखी विस्फोटका कारण हालसम्म ४६७ वटा उडान प्रभावित भएका छन्। उडान रद्द तथा ढिलाइ हुँदा ठूलो सङ्ख्यामा यात्रु विमानस्थलमै अलपत्र परेका छन्।
मन्त्री पुर्वागान्धीले प्रभावित यात्रुलाई टिकटको रकम फिर्ता गर्ने प्रक्रिया तीव्र बनाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिनुभएको छ। साथै, विमानस्थलमा अनावश्यक भीडभाड हुन नदिन आगामी उडानका यात्रुलाई समयमै सूचना उपलब्ध गराउनसमेत आग्रह गरिएको छ। यातायात मन्त्रालयका अनुसार ज्वालामुखी विस्फोटको प्रभाव आन्तरिक उडानसँगै अन्तर्राष्ट्रिय उडानमा समेत परेको छ। विशेषगरी सिङ्गापुर आउने–जाने उडान प्रभावित भएका छन् भने दोहा, सिड्नी र क्वालालम्पुरलगायतका अन्तर्राष्ट्रिय गन्तव्यतर्फका उडानमा समेत असर परेको जनाइएको छ।
शुक्रबार अबेर रातिदेखि ज्वालामुखी विस्फोट हुन थालेको थियो। विस्फोटपछि आसपासका क्षेत्रमा निरन्तर भूकम्पीय गतिविधि देखिनुका साथै लाभाका फोहरा र ठूलो गर्जन सुनिएको अधिकारीहरूले बताएका छन्। आज बिहान पनि ज्वालामुखीबाट थप दुई पटक विस्फोट भएको जनाइएको छ।
इन्डोनेशियाको मौसम विज्ञान निकायका अनुसार ज्वालामुखीबाट निस्किएको खरानी पूर्वतर्फको जाभा क्षेत्रमा करिब ६ हजार मिटर र पश्चिमतर्फको सुमात्रा क्षेत्रमा १५ हजार मिटर उचाइसम्म पुगेको थियो। ज्वालामुखी विस्फोटका क्रममा उछिट्टिएका चट्टानका केही टुक्रा ७० देखि ९० मिटरसम्म लामा रहेको वैज्ञानिकहरूले बताएका छन्। ज्वालामुखी विस्फोटका कारण हवाई उडानमा जोखिम बढ्नुका साथै आसपासका क्षेत्रमा समेत सतर्कता बढाइएको छ। अधिकारीहरूले मौसम तथा ज्वालामुखी गतिविधिको निरन्तर निगरानी गरिरहेका छन्।
इन्डोनेशिया ‘प्यासिफिक रिङ अफ फायर’ क्षेत्रमा पर्ने मुलुक हो। प्रशान्त महासागर वरिपरि फैलिएको यो क्षेत्रमा ज्वालामुखी, भूकम्पीय गतिविधि तथा टेक्टोनिक प्लेटहरूको व्यापक सक्रियता पाइन्छ। यो क्षेत्र दक्षिण अमेरिकाको दक्षिणी छेउदेखि न्युजिल्यान्डसम्म करिब ४० हजार किलोमिटर दूरीमा फैलिएको छ। विश्वमा हुने करिब ९० प्रतिशत भूकम्प यही क्षेत्रमा जाने गरेको बताइन्छ। त्यस्तै, पृथ्वीका करिब ७५ प्रतिशत अर्थात् ४५२ वटा सक्रिय ज्वालामुखीसमेत यही घेरामा रहेका छन्।




