चौलानी नदीमा तत्काल जोखिम छैन, सतर्क रहन प्रशासनको आग्रह

दार्चुला – अपिहिमाल गाउँपालिका-१ भट्टारमा पहिरो खसेर आधा थुनिएको चौलानी (चमेलिया) नदीमा तत्काल ठूलो जोखिम नरहे पनि जिल्ला प्रशासन कार्यालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार पहिरोका कारण नदीको केही भाग थुनिए पनि अहिले उक्त स्थानबाट निरन्तर पानी बगिरहेको छ। नदी पूर्णरूपमा थुनिएको अवस्था नरहेकाले तत्काल आत्तिनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो। यद्यपि, थप पहिरो खसेर नदीको बहाव पूर्णरूपमा अवरुद्ध भएमा जोखिम बढ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ।

प्रमुख जिल्ला अधिकारी पौडेलले अहिलेको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताउँदै स्थानीयवासीलाई अनावश्यक रूपमा त्रसित नहुन, तर सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षित रहन आग्रह गर्नुभएको छ। विशेषगरी नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले नदीको बहावमा अचानक परिवर्तन आएमा सुरक्षित स्थानतर्फ जान सक्ने गरी तयारी अवस्थामा रहन प्रशासनले अनुरोध गरेको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आंशिक रूपमा थुनिएको र थप पहिरो खसेर नदी पूर्णरूपमा थुनिन सक्ने सम्भावना रहेकाले सम्भावित जोखिमबाट बच्न प्रशासनले सतर्कता अपनाउन अनुरोध गरेको हो। प्रशासनले नदीको अवस्था सामान्य रहे पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी अवस्थाको निगरानी गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्