काठमाडौँँ – सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिमेलीहरूको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व गौराको रौनक छाएको छ। भदौ शुक्ल पञ्चमीदेखि सुरु भएको गौरा पर्वको मुख्य दिन अठवाली अर्थात् अष्टमी आज सुदूरपश्चिमका विभिन्न जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। दार्चुला, बैतडी, डडेल्धुरालगायत पहाडी जिल्लामा गौरा पर्वका अवसरमा स्थानीय गौरादेवीको मन्दिरमा विशेष पूजाआजा तथा जात्रा आयोजना गरिन्छ। कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदायले पनि विभिन्न स्थानमा गौरादेवीको मन्दिर तथा गौरा खला स्थापना गरी सामूहिक रूपमा पर्व मनाउने गरेका छन्।
सुदूरपश्चिमको मौलिक संस्कृति र पहिचानसँग जोडिएको गौरा पर्व नेपालका साथै भारतको उत्तराखण्डस्थित कुमाउँ र गढवाल क्षेत्रमा समेत आ-आफ्नै धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार मनाउने गरिन्छ। रोजगारी तथा काम विशेषले भारतलगायत विभिन्न देशमा पुगेका सुदूरपश्चिमेलीहरू गौरा पर्व मनाउन घर फर्किएपछि यतिबेला गाउँघरसमेत भरिभराउ भएका छन्। गौरा पर्वको सुरुआत भदौ शुक्ल पञ्चमीका दिनबाट हुन्छ। पहिलो दिन महिलाहरूले व्रत बसेर केराउ, गहत, गहुँ, मास र गुराँस मिसाएर तामाको भाँडामा बिरुडा भिजाउने गर्छन्। पाँच प्रकारका अन्न मिसाएर बिरुडा भिजाउने परम्परा रहेकाले भदौ शुक्ल पञ्चमीलाई सुदूरपश्चिममा बिरुडा पञ्चमीका रूपमा समेत चिनिन्छ।
पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर पखाल्ने तथा पूजा गर्ने चलन छ। सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर विधिपूर्वक पूजा–अर्चना गरिन्छ। विवाहित महिलाहरूले गौरा देवीलाई दुवधागो अर्थात् मन्त्रिएको पवित्र धागो चढाउने परम्परा पनि रहेको छ। गौरा पर्वको मुख्य दिन अठवाली अर्थात् अष्टमीका दिन व्रत बसेर गौरा खलामा पार्वती र शिवको पूजाआजा गर्ने गरिन्छ। यस दिनलाई दुर्वाष्टमीका रूपमा समेत लिइन्छ। पूजाआजासँगै गाउँघर तथा विभिन्न सार्वजनिक स्थलमा सामूहिक रूपमा देउडा खेल्ने गरिन्छ।
गौरा पर्वको प्रमुख आकर्षणका रूपमा रहेको देउडामा पौराणिक कथा, देवी–देवताका गाथा तथा सामाजिक जीवनसँग जोडिएका विषय प्रस्तुत गर्ने परम्परा छ। चैतली, धुमारी, ढुस्कोलगायत विभिन्न भाकामा देउडा खेल्दै महिला तथा पुरुषहरू सामूहिक रूपमा रमाउने गर्छन्। देउडा मनोरञ्जनको माध्यम मात्र नभई सुदूरपश्चिमको सामाजिक तथा सांस्कृतिक अभिव्यक्तिको महत्वपूर्ण माध्यमसमेत मानिन्छ। देउडाका माध्यमबाट समाजमा रहेका विकृति, विसङ्गति, सामाजिक समस्या तथा देशको राजनीतिक अवस्थामाथि व्यङ्ग्य गर्ने गरिन्छ। सुख–दुःख साटासाट गर्ने, आफ्ना भावना व्यक्त गर्ने तथा सामाजिक सद्भाव र आपसी सम्बन्धलाई बलियो बनाउने अवसरका रूपमा समेत गौरा पर्वलाई लिइन्छ।



