काठमाडौं – युवा व्यवसायी तथा दरौदी फेसन कलेक्सनका सञ्चालक प्रविन बगालेले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि १ लाख ६ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरेका छन्। नेपालचीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीका कारण आफूले समेत व्यवसायिक रूपमा क्षति बेहोर्नुपरेको अवस्थामा बगालेले पीडितको दुःखमा केही भए पनि मलम लगाउन सकियोस् भन्ने उद्देश्यले उक्त सहयोग गरेका हुन्। यसैगरी नेपाल व्यापार संघका सचिव समेत रहेका बगाले संघमार्फत एकमुष्ट दिनको लागि ५ हजार २ सय समेत संघलाइ बुझाइसकेका छन् । यसरी गर्दा उहाँले १ लाख ११ हजार ८ सय ६६ रुपैयाँ सहयोग गरिसकेका छन्
बाढीका कारण रसुवा तथा आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै व्यापारिक तथा व्यवसायिक गतिविधिसमेत प्रभावित भएका छन्। सीमा नाका हुँदै हुने व्यापार तथा आवतजावतमा परेको असरले व्यवसायीहरू पनि प्रत्यक्ष रूपमा प्रभावित भइरहेका बेला बगालेले आफूलाई परेको क्षतिका बाबजुद पीडित नागरिकका लागि सहयोगको हात अघि बढाएका हुन्।
सहयोग गर्दै बगालेले विपद्को समयमा आफूले बेहोरेको क्षतिलाई मात्र हेरेर बस्नुभन्दा पीडामा रहेका नागरिकलाई आफ्नो क्षमताअनुसार साथ दिनुपर्ने बताए। “चिनियाँ नाकामा आफ्नै मालसामानमा समेत क्षति पुगेको छ। हामीलाई पनि ठूलो असर परेको छ। तर अहिले व्यक्तिगत क्षतिभन्दा पनि विपदमा परेका नागरिकको पीडा ठूलो छ। पीडितको घाउमा मलम लगाउन भए पनि आफ्नो तर्फबाट सानो सहयोग गरेको हुँ,” बगालेले भने। उनले आफ्नो सहयोग रकम ठूलो नभए पनि विपदमा परेका परिवारको राहतमा केही योगदान पुगोस् भन्ने उद्देश्य रहेको बताए। बाढीपहिरोजस्तो विपद्का बेला सरकारको प्रयाससँगै निजी क्षेत्र, व्यवसायी, संघसंस्था तथा सर्वसाधारण सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने उनको भनाइ छ।
भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको र अझै पनि प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना तथा पुनर्निर्माणको आवश्यकता रहेकाले सहयोगलाई निरन्तरता दिनुपर्ने बगालेले बताए। युवा व्यवसायीका रूपमा आफ्नो व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै आएका बगालेले विपद्को समयमा पीडित परिवारलाई प्रत्यक्ष राहत पुग्ने गरी सहयोग गर्न आग्रह गरेका छन्। उनका अनुसार विपद्का कारण घरपरिवार, व्यवसाय, रोजगारी तथा सम्पत्तिमा क्षति बेहोरेका नागरिकलाई अहिले तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाको आवश्यकता छ। त्यसका लागि राज्यसँगै निजी क्षेत्र र समाजका सबै पक्षको सहकार्य आवश्यक रहेको उनले बताए।
उनले चीनसँग सीमा जोडिएका नाकाहरु जस्तै रसुवाको केरुङ नाका, सिन्धुपाल्चोकको तातोपानी नाका तथा कोराला नाकाबाट भित्रिने माल बस्तु तथा समानहरुको भन्सार जाँचपास अब कीर्तिपुरको चोभारमा रहेको सुख्खा बन्दरगाह तथा चोभार भन्सारबाट हुने व्यवस्थामा सरकारले तयारी थाल्न समेत सुझाव दिएका छन् । साथै यसबाट व्यवसायीहरु क्षतिहुनबाट केहि हदसम्म भएपनि न्यनिकरण हुने र बर्खायाममा बाटो बिग्रिने, ट्राफिक जाम हुने लगायतका समस्या समेत हल हुने भएकाले चोभार भन्सारबाट जाँचपास शीघ्र अघि बढाउनेपर्ने उनले सुझाव दिएका छन् ।
भोटेकोशी बाढीले सीमा क्षेत्रमा रहेका व्यवसाय, जलविद्युत् आयोजना, सडक तथा अन्य पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ। बाढीका कारण व्यापारिक गतिविधि प्रभावित भए पनि विपद्को पीडामा रहेका नागरिकलाई सहयोग गर्नुपर्ने मानवीय दायित्वबाट आफू पछि नहटेको बगालेको भनाइ छ। बगालेको १ लाख ६ हजार ६ सय ६६ रुपैयाँ सहयोगले विपद्को समयमा व्यक्तिगत तथा व्यावसायिक क्षति बेहोरेका व्यक्तिहरूले समेत पीडितको साथमा उभिनुपर्ने सन्देश दिएको छ। उनले अन्य व्यवसायी तथा सामाजिक क्षेत्रका व्यक्तिहरूलाई पनि आफ्नो क्षमताअनुसार सहयोग गर्न आह्वान गरेका छन्।



