चीनबाट नेपाललाई ५० टन राहत सामग्री, उद्धार उपकरणसहित चार विशेषज्ञ टोली पनि आयो

काठमाडौं – चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले चीनले राहत सामग्रीसँगै सुरुङ उद्धारमा दक्ष चार जना विशेषज्ञ टोलीसमेत नेपाल पठाएको हो। आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला ट्रान्सपोर्ट विमान राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार विमानमार्फत ५० टन तौल बराबरका १३ हजार २०० थान आपत्कालीन राहत सामग्री नेपाल ल्याइएको हो। राहत सामग्रीमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड तथा बिस्कुट र प्राथमिक उपचार किटलगायत सामग्री छन्। चीनले राहत सामग्रीसँगै उद्धारका लागि आवश्यक उपकरणसहित चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि नेपाल पठाएको छ। विशेषगरी बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा फसेकाको खोज तथा उद्धारमा उनीहरूको विशेषज्ञता उपयोगी हुने अपेक्षा गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित हस्तान्तरण कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ तथा प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थिति थियो। सो अवसरमा नेपाल आइपुगेका चिनियाँ उद्धार विशेषज्ञलाई समेत स्वागत गरिएको थियो। चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका ती दुई विमान करिब तीन घण्टाको उडानपछि काठमाडौं आइपुगेका हुन्। नेपाल–चीन सीमा क्षेत्र तथा देशका विभिन्न भागमा आएको विनाशकारी बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएपछि विपद् प्रतिकार्यमा सहयोग गर्न चीनले यो आपत्कालीन सहायता उपलब्ध गराएको हो।

राहत सामग्रीले बाढी तथा पहिरो प्रभावित नागरिकका लागि तत्काल आवश्यक मानवीय सहायता उपलब्ध गराउन सहयोग पुग्नेछ भने चिनियाँ उद्धार विशेषज्ञ र उपकरणले कठिन तथा जोखिमपूर्ण संरचनामा जारी खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्