काठमाडौं – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बगेर चितवन पुगेका तर पहिचान हुन नसकेका शवहरूको व्यवस्थापन सुरु गरिएको छ। शनिबारदेखि भरतपुर महानगरपालिका–१ स्थित रामनगर र देवघाटको बीचमा पर्ने जंगल क्षेत्रमा पहिचान हुन नसकेका शवलाई सुरक्षित रूपमा जमिनमुनि गाड्ने प्रक्रिया सुरु गरिएको हो।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार शवहरू लामो समयसम्म राख्दा सडेर दुर्गन्ध फैलिनुका साथै महामारीको जोखिमसमेत बढ्न सक्ने भएकाले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शव व्यवस्थापन थालिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार चितवनमा हालसम्म बाढीले बगाएर ल्याएका २३३ वटा शव संकलन भएका छन्। तीमध्ये ६ वटा शवको पहिचान गरी आफन्तलाई बुझाइसकिएको छ। बाँकी २२७ वटा शवलाई भविष्यमा पहिचान गर्न तथा आवश्यक परे पुनः उत्खनन गर्न सकिने गरी व्यवस्थित रूपमा गाड्न लागिएको उनले जानकारी दिए।
जीपीएसबाट शवको स्थान सुरक्षित गरिँदै
शव व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग गरिएको छ। प्रत्येक शव गाडिएको स्थानको जीपीएस कोअर्डिनेट रेकर्ड गरी डिजिटल नक्सांकन गरिने प्रहरी उपरीक्षक पौडेलले बताए।
यसरी अभिलेख राख्दा वर्षौंपछि पनि कुनै निश्चित संकेत नम्बरको शव कहाँ गाडिएको छ भन्ने कुरा डिजिटल नक्साको माध्यमबाट सजिलै पत्ता लगाउन सकिनेछ।
शव व्यवस्थापनको सम्पूर्ण प्रक्रियाको फोटो तथा भिडियोसमेत खिचेर डिजिटल अभिलेख सुरक्षित राखिने प्रहरीले जनाएको छ।
डीएनए नमुना लिएर मात्रै गाडिने
प्रहरीका अनुसार पहिचान हुन नसकेका प्रत्येक शवको डीएनए नमुना अनिवार्य रूपमा संकलन गरिनेछ। शव व्यवस्थापनको प्रक्रिया वैज्ञानिक र व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को मापदण्डलाई समेत आधार बनाइएको छ।
जंगल क्षेत्रमा करिब डेढ मिटर गहिरो खाडल खनेर एउटा शव र अर्को शवबीच करिब ४० सेन्टिमिटर दूरी कायम गरिनेछ। प्रत्येक शवलाई विशेष प्लास्टिक ब्यागमा प्याक गरी त्यसमा संकेत नम्बर राखिनेछ।
भविष्यमा आफन्तले आफ्नो मान्छेको शव दाबी गर्न आएमा सजिलै पहिचान गर्न सकियोस् भनेर शव गाडिएको स्थानको केही छेउमा कंक्रिटको संरचना बनाई स्पष्ट रूपमा देखिने गरी संकेत नम्बर राखिने व्यवस्था गरिएको छ।
डीएनए मिलेपछि आफन्तले शव लैजान सक्ने
बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्तले सम्बन्धित जिल्ला अस्पतालमा डीएनए नमुना दिन सक्नेछन्। उक्त नमुना चितवनमा संकलन गरी सुरक्षित राखिएको शवको डीएनएसँग परीक्षण गर्दा मेल खाएमा प्रहरीले सम्बन्धित परिवारलाई जानकारी दिनेछ।
डीएनए परीक्षणबाट पहिचान खुलेपछि आफन्तहरू चितवन आएर संकेत नम्बर र सुरक्षित राखिएको जीपीएस लोकेसनका आधारमा शवको पहिचान गरी अन्तिम संस्कारका लागि लैजान सक्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
प्रशासनले ठूलो संख्यामा शव फेला परेको र लामो समयसम्म सुरक्षित राख्न सम्भव नभएको अवस्थामा वैज्ञानिक तथा सुरक्षित व्यवस्थापन आवश्यक भएको जनाएको छ। शव व्यवस्थापनका क्रममा स्थानीय समुदाय तथा पीडित परिवारको भावनालाई समेत ध्यानमा राखिएको बताउँदै प्रशासनले सम्बन्धित सबैसँग सहयोग र समन्वयका लागि आग्रह गरेको छ।



