काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विभिन्न आठ जिल्लामा बिहीबार राति ९ बजेसम्म ३८९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार बाढीमा परी घाइते भएका ४६६ जनाको उद्धार गरिएको छ। प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, पूर्वी नवलपरासीमा ८७ र पश्चिम नवलपरासीमा २७ जनाको शव फेला परेको हो।
बाढीको प्रभाव भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा समेत परेको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रहरीले निरन्तरता दिइरहेको जनाएको छ। बाढीपछि विभिन्न स्थानमा बेपत्ता भएका नागरिकको खोजी, शव व्यवस्थापन तथा घाइतेको उद्धारलाई प्राथमिकतामा राखेर सुरक्षा निकाय परिचालन गरिएको छ। नेपाल प्रहरीले जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन तथा नदी तथा खोलाको किनारमा नजान आग्रह गर्दै आएको छ।
बाढीबाट भएको क्षतिको पूर्ण विवरण अझै संकलनको क्रममा रहेकाले मृतक तथा बेपत्ताको संख्या थप बढ्न सक्ने प्रहरीले जनाएको छ।



