काठमाडौं- नेपालमा अटोमोबाइल व्यवसायको संस्थागत विकासले ५० वर्ष पूरा गरेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि, सन् १९७७ मा नेपालमा एक वर्षमा जम्मा ८०१ वटा नयाँ सवारीसाधन दर्ता भएका थिए । अहिले देशभर दर्ता भएका सवारीसाधनको संख्या करिब ५५ लाख पुगेको छ । हाल नयाँ सवारीसाधन दर्तामध्ये करिब ८४ प्रतिशत मोटरसाइकल रहेका छन् । यसले नेपालीको दैनिक आवागमनमा दुईपांग्रे सवारीसाधनको भूमिका कति महत्वपूर्ण बनेको छ भन्ने देखाउँछ ।
पछिल्ला पाँच आर्थिक वर्षमा नेपालले करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा अटोमोबाइलसम्बन्धी सामग्री आयात गरेको छ । यसबाट करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । पछिल्लो एक आर्थिक वर्षमा मात्रै अटोमोबाइल क्षेत्रले राज्यलाई ७५ अर्ब रुपैयाँभन्दा बढी राजस्व योगदान गरेको तथ्यांक छ । अटोमोबाइल क्षेत्रको योगदान राजस्वमा मात्र सीमित छैन । देशभर फैलिएको डिलर सञ्जाल, पार्टपुर्जा तथा आफ्टरमार्केट आपूर्ति शृंखला, दक्ष मेकानिक तथा सर्भिस टेक्निसियन, अटो फाइनान्स, सवारी बीमा तथा उत्सर्जन, सडक सुरक्षा र कर नीतिसम्बन्धी निरन्तर संवादले यस क्षेत्रलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनाएको छ ।
आयातबाट उत्पादनतर्फको यात्रा
नाडाको स्वर्ण जयन्ती अवसरमा आयोजना हुने प्रदर्शनीमा ‘मेड इन नेपाल / मेड फर नेपाल’ प्याभिलियन राखिने भएको छ । उक्त प्याभिलियनमा नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारीसाधन तथा अटोमोबाइल सामग्री प्रदर्शन गरिनेछ । करिब आठ नेपाली उत्पादक सहभागी हुने अपेक्षा गरिएको प्याभिलियनमा विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट र हेल्मेटलगायतका उत्पादन प्रदर्शन हुनेछन् । यात्री, एसियन ब्याट्रिज, कोहिनूर प्लास्टिक इन्डस्ट्रिज, नेपाल ल्युब आयल र पूर्वाञ्चल ल्युब आयललगायतका नेपाली उत्पादकको सहभागिता रहने बताइएको छ । यद्यपि अन्तिम सहभागी सूची भने नाडा सचिवालयबाट पुष्टि हुन बाँकी छ ।
करिब दुई सय स्टल रहने प्रदर्शनीमा स्वदेशी उत्पादनको हिस्सा सानो भए पनि यसलाई नेपालको अटोमोबाइल क्षेत्रमा आएको महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ । नेपाल अझै पूर्णरूपमा अटोमोबाइल उत्पादन गर्ने मुलुक बनिसकेको छैन । तर लामो समयसम्म पूर्णतः आयातमा निर्भर रहेको क्षेत्रमा स्वदेशमै उत्पादन र एसेम्बली सुरु हुनु औद्योगिक विकासको नयाँ चरणका रूपमा देखिएको छ ।
तीन पुस्तासम्म जोडिएको बजार
नेपालको अटोमोबाइल बजारमा सुजुकी र टाटाजस्ता ब्रान्डको उपस्थिति दशकौंदेखि रहँदै आएको छ । लामो समयदेखि एउटै ब्रान्ड र डिलरसँग जोडिएका उपभोक्ताका परिवारमा तीन पुस्तासम्म एउटै डिलरबाट सवारीसाधन खरिद गर्ने उदाहरणसमेत छन् ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार नेपालको अटोमोबाइल क्षेत्र अब सवारीसाधन आयातमा मात्र सीमित नरही स्वदेशी उत्पादन र आत्मनिर्भरताको दिशामा अघि बढिरहेको छ ।“हामीले दिन खोजेको सन्देश यही हो-नेपाल अब गाडी आयात गर्ने देशमा मात्र सीमित छैन । हामी बिस्तारै आत्मनिर्भरता र स्वदेशी उद्योगतर्फ बढिरहेका छौं,” उप्रेतीले भने ।
५० वर्षअघि नेपालमा सवारीसाधन आयात गर्ने व्यवसायीको प्रतिनिधित्व गर्ने उद्देश्यले स्थापना भएको नाडाको दायरा अहिले फराकिलो भएको छ । आज यसले सवारीसाधन आयातकर्ता मात्र नभई एसेम्बलर, वित्तीय सेवा प्रदायक, बीमा कम्पनी, सर्भिस प्रदायक, पार्टपुर्जा व्यवसायी र विस्तारै स्वदेशमै उत्पादन गर्ने उद्योगलाई समेत समेट्दै गएको छ । त्यसैले नाडाको स्वर्ण जयन्ती केवल संस्थाको ५० वर्षे यात्राको उत्सव मात्र नभई नेपालको अटोमोबाइल क्षेत्र आयातमुखी बजारबाट उत्पादन र आत्मनिर्भरताको सम्भावनातर्फ अघि बढिरहेको संकेतका रूपमा समेत हेरिएको छ ।



