काठमाडौं – नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ नजिकिँदै गर्दा काठमाडौंको भृकुटीमण्डपमा स्टल निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने नाडा अटो शोको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्ड, अटो पार्ट्स तथा कम्पोनेन्ट, टायर, ल्युब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टल निर्माण धमाधम भइरहेको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार यस वर्षको स्वर्ण जयन्ती संस्करणमा २०० भन्दा बढी स्टल रहनेछन् । करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने प्रदर्शनीमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुँदैछन् । प्रदर्शनीमा नयाँ सवारीसाधन, विद्युतीय सवारी, अत्याधुनिक प्रविधि तथा विभिन्न अटोमोबाइल उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन् । करिब ७० वटा स्टलमा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरणलगायतका सामग्री राखिनेछ । बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको समेत सहभागिता रहनेछ ।
अटोमोबाइल क्षेत्रको ‘शोकेस’
नाडा अटो शोमा नयाँ सवारीसाधन र प्रविधिको प्रदर्शनसँगै उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अन्य सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तरक्रियाको अवसरसमेत उपलब्ध हुनेछ । नाडाका अनुसार अटो शोले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको पछिल्लो अवस्था, बजारमा भित्रिएका नयाँ प्रविधि र भविष्यको गतिशीलताको दिशालाई एउटै थलोबाट बुझ्ने अवसर प्रदान गर्नेछ ।
यस वर्षको विशेष आकर्षणका रूपमा ‘मेड इन नेपाल र मेड फर नेपाल’ प्याभिलियनसमेत रहनेछ । उक्त प्याभिलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन, ईभी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल कम्पोनेन्टको प्रवद्र्धन गरिने तयारी छ । स्वर्ण जयन्ती अवसरमा आयोजना हुन लागेको नाडा अटो शोले नयाँ सवारीसाधन र प्रविधिको प्रदर्शनसँगै नेपाली अटोमोबाइल बजारको विकास, परिवर्तन र आगामी सम्भावनालाई समेत एउटै मञ्चबाट प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।



