काठमाडौं । प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेललाई चेक बाउन्ससम्बन्धी मुद्दामा पक्राउ गरेको छ । प्रहरीले पौडेललाई बिहीबार काठमाडौंको बानेश्वरस्थित जनता टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो । उनीविरुद्ध दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएको भन्दै उजुरी दिएका थिए ।
पौडेलमाथि चेक बाउन्सको मुद्दा परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । यसअघि जनता टेलिभिजनका पूर्वपत्रकार तथा पूर्वकर्मचारीहरूले आफूहरूले लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै टेलिभिजन व्यवस्थापनविरुद्ध आन्दोलनसमेत गर्दै आएका थिए । पारिश्रमिक नपाएको विषयमा कर्मचारी र व्यवस्थापनबीच विवाद रहँदै आएको थियो ।



