पाँच दिनदेखि धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले बैंक, लघुवित्त, सहकारी, मिटरब्याजी प्रभावित तथा भूमिहीन सुकुम्बासीका माग तत्काल सम्बोधन गर्दै उनीहरूको स्वास्थ्य, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । विभिन्न माग राख्दै पाँच दिनदेखि ललितपुरको पुल्चोकस्थित आयोगको कार्यालयअगाडि धर्नामा बसेका प्रदर्शनकारीको अवस्थाप्रति ध्यानाकर्षण जनाउँदै आयोगले सरकारलाई यस्तो आग्रह गरेको हो ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा धर्नामा महिला, बालबालिका, अशक्त तथा ज्येष्ठ नागरिकसमेत सहभागी रहेकाले उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने उल्लेख गरिएको छ । लामो समयसम्म धर्ना जारी रहँदा स्वास्थ्य तथा सुरक्षामा जोखिम बढ्न सक्ने भन्दै आयोगले तत्काल आवश्यक व्यवस्था गर्न सरकारलाई आग्रह गरेको हो ।

आयोगले धर्नामा बसेकाहरूको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको जनाएको छ । उनीहरूको सुरक्षामा समेत असर पर्न सक्ने भएकाले उपयुक्त स्थानमा स्थानान्तरण गरी स्वास्थ्योपचार, बसोबास तथा शान्ति सुरक्षाको व्यवस्था मिलाउन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । समस्या समाधानका लागि सरकारले वार्ता टोली गठन गरेको विषयलाई आयोगले सकारात्मक रूपमा लिएको छ । माग सम्बोधनका लागि वार्ता र संवाद नै उपयुक्त माध्यम भएकाले सम्बन्धित पक्षलाई वार्तालाई निरन्तरता दिँदै समाधान खोज्न आयोगले आग्रह गरेको छ ।

आयोगले धर्नामा रहेका नागरिकको मानवअधिकारको संरक्षणसँगै उनीहरूका जायज मागको सम्बोधन गर्न राज्यका सम्बन्धित निकाय गम्भीर बन्नुपर्नेमा जोड दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्