१३ जिल्लामा पर्यटन प्रवद्र्धन अभियान चलाउँदै हान बागमती, होटल तथा पर्यटन मेला आयोजना गर्ने

काठमाडौं – होटल संघ नेपाल (हान) बागमती प्रदेशले बागमती प्रदेशका १३ वटै जिल्लामा पर्यटन प्रवद्र्धनलाई तीव्रता दिने भएको छ । संघले चालु आर्थिक वर्षभित्र होटल तथा पर्यटन मेला आयोजना गर्नुका साथै स्थानीय पर्यटकीय गन्तव्यको पहिचान, प्रचार र बजारीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाउने निर्णय गरेको हो । बुधबार बसेको संघको पहिलो बैठकले पर्यटन क्षेत्रको विकास र होटल व्यवसायको विस्तारसँग सम्बन्धित आठ महत्वपूर्ण निर्णय गरेको छ । प्रदेशका विभिन्न जिल्लामा रहेका सम्भावनायुक्त पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले मेला आयोजना गर्ने र त्यसका लागि स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय एवं पर्यटन क्षेत्रका संघ-संस्थासँग सहकार्य गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले होटल व्यवसायमा नयाँ लगानी तथा पूर्वाधार विस्तारलाई सहज बनाउन २५ कोठासम्मका होटल तथा आवासीय प्रतिष्ठानका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) अनिवार्य नहुने गरी नीतिगत व्यवस्था गर्न नेपाल सरकारसँग आग्रह गर्ने निर्णयसमेत गरेको छ । संघले विद्यमान वातावरणीय प्रक्रिया सरल र व्यावहारिक बनाउनुपर्नेमा जोड दिएको छ । संघले संगठनलाई जिल्लास्तरसम्म विस्तार गर्ने योजना पनि अघि सारेको छ । भदौ महिनाभित्र बागमती प्रदेशका सबै १३ जिल्लामा जिल्ला समिति गठन गर्ने निर्णय भएको छ । त्यससँगै प्रत्येक जिल्लामा ‘पर्यटन संवाद’ कार्यक्रम सञ्चालन गरी स्थानीय सरकार, व्यवसायी तथा सरोकारवालाबीच प्रत्यक्ष छलफलको वातावरण बनाइने संघले जनाएको छ ।

स्थानीय तहमा रहेका पर्यटनसम्बन्धी समस्या तथा सम्भावना पहिचान गरी त्यसलाई नीतिगत तहसम्म पुर्‍याउने र नयाँ पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले संवाद कार्यक्रम सञ्चालन गरिनेछ । बैठकले संघको आन्तरिक व्यवस्थापनलाई समेत थप व्यवस्थित बनाउने निर्णय गरेको छ । प्रचार विभाग संयोजक विनोद जिरेलको संयोजनमा तीन सदस्यीय समिति, कोषाध्यक्षको संयोजनमा आर्थिक विभागअन्तर्गत तीन सदस्यीय समिति तथा वरिष्ठ सल्लाहकार घनश्याम श्रेष्ठको संयोजनमा कार्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

होटल व्यवसायलाई उद्योगसरह मान्यता दिएर उद्योगले प्राप्त गर्ने सुविधा उपलब्ध गराउनुपर्ने मागलाई पनि संघले प्राथमिकतामा राखेको छ । यससम्बन्धी माग सरकारका सम्बन्धित निकायमा औपचारिक रूपमा प्रस्तुत गर्ने निर्णय बैठकले गरेको छ । हान बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेले बागमतीका सम्भावित पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धनलाई अब व्यक्तिगत प्रयासमा मात्र सीमित नराखी संस्थागत रूपमा अघि बढाउने तयारी गरिएको बताउनुभयो ।

‘सम्भावना भएका गन्तव्य धेरै छन्, तर तिनको व्यवस्थित प्रचार र बजारीकरण हुन सकेको छैन,’ बकेले भन्नुभयो, ‘अब संस्थागत संरचनामार्फत गन्तव्य पहिचानदेखि प्रचार, बजारीकरण र पर्यटन व्यवसायसँग जोड्ने कामलाई प्रभावकारी बनाउनेछौँ ।’ संघले पर्यटन पूर्वाधार विकास, नीतिगत सुधार तथा व्यवसायीको हकहितसँगै नयाँ गन्तव्यको प्रवद्र्धनलाई आगामी दिनमा प्राथमिकताका साथ उठाउने जनाएको छ । सरकार, स्थानीय तह र निजी क्षेत्रबीच सहकार्य बलियो बनाएर पर्यटनलाई रोजगारी, स्थानीय अर्थतन्त्र र समग्र आर्थिक विकाससँग जोड्ने संघको लक्ष्य छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्