काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गर्ने मुख्य काम तथा हासिल गर्ने उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर तथा सम्झौताको प्रति आदानप्रदान गरिएको हो।
कार्यसम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा सम्बन्धित मन्त्रालयबाट सञ्चालन गरिने प्रमुख कार्यक्रम, प्राथमिकता र हासिल गर्नुपर्ने उपलब्धिलाई समेटिएको बताइएको छ। यसैगरी आजै प्रधानमन्त्री शाहसँग सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन्। सरकारले कार्यसम्पादन सम्झौतामार्फत मन्त्रालय र सम्बन्धित निकायको कामलाई परिणाममुखी बनाउने तथा जिम्मेवारी र उपलब्धिको मूल्याङ्कन गर्ने आधार तय गर्न खोजेको छ।



