सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री शाहीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २१ र विपक्षमा १३ जना प्रदेशसभा सदस्यले मतदान गरेका छन्। दुई जना सांसद भने तटस्थ बसेका छन्।
मुख्यमन्त्री शाहीलाई नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले विश्वासको मत दिएका हुन्। नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले भने प्रस्तावको विपक्षमा मतदान गरेका छन्। ४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित १०, नेकपाका १४, नेपाली कांग्रेसका १५ र राप्रपाका एक जना सांसद छन्।
नेकपा एमालेको समर्थनमा गत साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले नियुक्त भएको २३ दिनपछि प्रदेशसभाबाट विश्वासको मत लिएका हुन्। विश्वासको मत प्राप्त गरेसँगै मुख्यमन्त्री शाही नेतृत्वको कर्णाली प्रदेश सरकारलाई प्रदेशसभाको समर्थन सुनिश्चित भएको छ।



