जेसीएल सिजन-२ मा नेरिक एकेडेमीको लगातार दोस्रो जित

 

काठमाडौं । नेरिक एकेडेमी शंखमूलले जुनियर क्रिकेट लिग (जेसीएल) सिजन–२ मा लगातार दोस्रो जित हात पारेको छ। मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा जारी टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको दोस्रो दिन नेरिकले चेल्सी वर्ल्ड स्कुललाई ३ विकेटले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको चेल्सी वर्ल्ड स्कुलले निर्धारित ओभरमा ५२ रन बनाएको थियो। चेल्सीका प्रारम्भले सर्वाधिक १५ रन बनाए। नेरिकका बलर अग्रिम बुढाथोकी र सुशान्तले समान २–२ विकेट लिए।

५३ रनको लक्ष्य पछ्याएको नेरिक एकेडेमीले ८.१ ओभरमा ५३ रन बनाउँदै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नेरिकका रोशनले १५ रन बनाए। चेल्सीका स्पर्शा र स्पर्शा पोखरेलले समान २–२ विकेट लिए भने अविन र सक्षमले १–१ विकेट हात पारे।

दुई महत्वपूर्ण विकेट लिँदै उत्कृष्ट बलिङ गरेका नेरिकका अग्रिम बुढाथोकी ‘प्लेयर अफ द म्याच’ घोषित भए।

यसअघि प्रतियोगिताको पहिलो दिन नेरिक एकेडेमीले एसिया प्यासिफिकलाई ३७ रनले पराजित गर्दै विजयी सुरुआत गरेको थियो। उक्त खेलमा पनि कप्तान अग्रिम बुढाथोकी उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ बनेका थिए।

लगातार दुई जितसँगै नेरिक एकेडेमीले जेसीएल सिजन–२ मा आफ्नो दाबेदारी बलियो बनाएको छ।

एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको व्यवस्थापन तथा नेपाल प्रिमियर लिग (एनपीएल) टोली काठमाडौं गोर्खाजको सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान वज्राचार्यले गरेका थिए।

उद्घाटन कार्यक्रममा एन्जल्स हार्ट फाउन्डेसनका अध्यक्ष लिलबहादुर पुन, एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा, काठमाडौं गोर्खाजका क्रिकेट निर्देशक शरद भेषावकर तथा एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरका अध्यक्ष खिम थापालगायतको उपस्थिति थियो।

चेल्सी वर्ल्ड स्कुलविरुद्धको खेलमा एन्जल्स स्पोर्ट्स एकेडेमीका निर्देशक सञ्जय गुरुङ विशेष अतिथिका रूपमा उपस्थित थिए।

नेरिक एकेडेमीका कोच तथा पूर्व राष्ट्रिय क्रिकेटर सोमेश यादवले लगातार दुई खेलमा जित निकाल्दै युवा खेलाडीहरूले प्रतिभा, अनुशासन र टिमवर्क प्रदर्शन गरेको बताए। विद्यालयले खेलकुदलाई शिक्षाको अभिन्न अंगका रूपमा अघि बढाउँदै विद्यार्थीको प्रतिभा विकास र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा निरन्तर जोड दिँदै आएको उनको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्