देशविरोधी शक्तिहरूले फाइदा नउठाऊन् भनेर पदबाट राजीनामा दिएको हुँः धर्मेन्द्र प्रधान

काठमाडौं । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले नीट (NEET) परीक्षा प्रश्नपत्र अनियमितता प्रकरणपछि उत्पन्न राष्ट्रिय परिस्थितिको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो राजीनामा पत्र सार्वजनिक गर्दै देशको एकता, विद्यार्थीको भविष्य र शिक्षा प्रणालीप्रतिको विश्वास जोगाउन प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको बताएका हुन्।

प्रधानले देशविरोधी शक्तिले वर्तमान परिस्थितिको अनुचित फाइदा उठाउन नपाओस्, कुनै पनि विद्यार्थी कानुनी जटिलतामा नफसोस् र विद्यार्थीले निर्धक्क भएर अध्ययन तथा भविष्य निर्माणमा ध्यान दिन सकून् भन्ने उद्देश्यले आफूले पद त्यागेको उल्लेख गरेका छन्।

उनले चार दशकभन्दा बढी समयदेखि विद्यार्थी, शिक्षक र शिक्षा सुधारको अभियानमा निरन्तर सक्रिय रहेको स्मरण गर्दै बलियो, समावेशी र दूरदर्शी शिक्षा प्रणाली नै राष्ट्र निर्माणको आधार भएको विश्वास व्यक्त गरेका छन्। युवाको सपना र अपेक्षाप्रति आफू सधैँ प्रतिबद्ध रहेको उनको भनाइ छ। प्रधानका अनुसार नीट प्रश्नपत्र अनियमितता सार्वजनिक भएपछि सरकारले तत्काल छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (CBI) लाई जिम्मेवारी दिएको, परीक्षा रद्द गरेर पुनः परीक्षा सञ्चालन गरिएको र नतिजासमेत सार्वजनिक भइसकेको छ। साथै, आगामी वर्षदेखि नीट परीक्षा कम्प्युटरमा आधारित प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरिएको उनले जानकारी दिएका छन्।

उनले २० लाखभन्दा बढी विद्यार्थीको पुनः परीक्षा सफलतापूर्वक सम्पन्न गराउन केन्द्र तथा राज्य सरकार, जिल्ला प्रशासन, अभिभावक र विद्यार्थीको सहयोग महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। राजीनामा पत्रमा उनले परीक्षा माफियाका कारण कुनै पनि प्रतिभाशाली विद्यार्थीको भविष्य बर्बाद हुन नदिने आफ्नो दृढ अडान दोहोर्याउँदै पछिल्ला घटनाक्रमले आफूलाई गहिरो दुःखी बनाएको बताएका छन्। जिम्मेवार पदमा रहेका केही व्यक्तिले नै विद्यार्थीलाई भ्रममा पार्ने प्रयास गरेको आरोप लगाउँदै उनले यो आफ्नो व्यक्तिगत प्रतिष्ठाको विषय नभई राष्ट्र र युवाको भविष्यसँग जोडिएको विषय भएको उल्लेख गरेका छन्।

प्रधानले पदबाट बाहिरिए पनि राष्ट्र र शिक्षा क्षेत्रको सेवामा आफू सधैँ समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्