काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि आगामी दुई दिनसम्म देशका केही पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।
यस्तै, भोलि देशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। भोलि राति भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आगामी केही दिन केही स्थानमा मात्रै भारी वर्षाको सम्भावना रहे पनि देशका अधिकांश क्षेत्रमा अत्यधिक वर्षाको जोखिम भने कम हुँदै गएको छ। मनसुन सक्रिय रहे पनि ठूलो वर्षा हुने क्रम बिस्तारै घट्दै गएको मौसमविद्को भनाइ छ। महाशाखाले नदी तथा खोलानालाको तटीय क्षेत्र, पहिरोको जोखिम भएका स्थान र सडक यात्रामा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।



