काठमाडौं । सरकारका प्रवक्ता तथा युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदालाई निरन्तरता दिइने बताएका छन्।
शिक्षा पत्रकार समूहका प्रतिनिधिसँगको भेटघाटमा मन्त्री पोखरेलले शनिबार र आइतबारको बिदा हटाउने सरकारको कुनै योजना नरहेको स्पष्ट पारे।
“शनिबार र आइतबार दुई दिनको बिदा अलोकप्रिय हो भन्ने थाहा छ, तर पनि यसले निरन्तरता पाउँछ। यो हट्दैन,” मन्त्री पोखरेलले भने।
उक्त अवसरमा उनले शिक्षक सरुवासम्बन्धी विषयमा पनि धारणा राख्दै शिक्षा नियमावली तत्काल संशोधन गर्न नसकिने बताए।
उनले शिक्षकले आफू कार्यरत विद्यालयमा कम्तीमा तीन वर्ष सेवा गर्नुपर्ने विद्यमान व्यवस्था रहेको उल्लेख गर्दै तीन वर्ष पूरा नहुँदै सरुवा हुन पाउनुपर्ने माग तत्काल सम्बोधन गर्न सम्भव नभएको स्पष्ट पारे।
“शिक्षकले आफू कार्यरत विद्यालयमा कम्तीमा तीन वर्ष सेवा गर्नुपर्छ। त्यसैले तीन वर्ष नपुग्दै सरुवा हुन पाउनुपर्छ भन्ने माग पूरा गर्न शिक्षा नियमावली तत्काल संशोधन गर्न सकिँदैन,” मन्त्री पोखरेलले भने।



