काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई नेपालको इतिहासकै सबैभन्दा ध्वंसात्मक आन्दोलनको संज्ञा दिएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त आन्दोलनका क्रममा हिंसा, आगजनी र तोडफोडका घटना भएको दाबी गर्दै यसले नेपालको इतिहासमै कल्पना गर्न नसकिने अवस्था सिर्जना गरेको बताए।
“भदौ २३/२४ गते जुन खालको मार्नेमराउने, आगजनी गराउने र नेपालको इतिहासमा कल्पना गर्नै नसक्ने घटना घटाइयो,” उनले भने।
ओलीले तत्कालीन माओवादीले सशस्त्र विद्रोह गरे पनि समाजलाई भयमा राख्ने गतिविधि नगरेको दाबी गर्दै जेनजी आन्दोलनका क्रममा त्यसभन्दा बढी हिंसात्मक शैली अपनाइएको आरोप लगाए।
उनले आन्दोलनपछि वैधानिक सरकारमाथि अवैध र आतंकपूर्ण गतिविधि गरिएको आरोप पनि लगाए। संविधानले अनुमति नदिने कार्य पूर्वप्रधानन्यायाधीशको अगुवाइमा भएको भन्दै जननिर्वाचित संसद् असंवैधानिक रूपमा विघटन गरिएको दाबी गरे।
अध्यक्ष ओलीले वर्तमान अवस्थामा लोकतन्त्र संकटमा परेको टिप्पणी गर्दै लोकतान्त्रिक मूल्यमान्यताको पुनर्स्थापनाको आवश्यकता रहेको बताए।
“अहिले लोकतन्त्र कहाँ छ? लोकतन्त्र अपहरण भएको छ। लोकतन्त्रको पुनःस्थापना आवश्यक छ,” उनले भने।



