आज र भोलिसम्म भारी वर्षाको सम्भावना, बुधबारदेखि मनसुन कमजोर हुने संकेत

काठमाडौं । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी क्षेत्रबाहेक देशका अधिकांश स्थानमा वर्षा भएको छ। केही जिल्लामा भारी वर्षा भएको भने धेरै स्थानमा कृषि कार्यका लागि पर्याप्त पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार सिन्धुपाल्चोक, रुपन्देही र दाङ लगायतका जिल्लामा आरीघोप्टे वर्षा भएको छ। अन्य जिल्लामा पनि निरन्तर वर्षा हुँदा खेतबारीमा आवश्यक चिस्यान पुगेको छ।

हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फ रहेकाले देशभर वर्षाको प्रभाव कायम रहेको विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन्। उनका अनुसार आज र भोलि देशका विभिन्न भागमा वर्षा जारी रहनेछ भने बुधबारदेखि मनसुनको प्रभाव क्रमशः कमजोर हुँदै वर्षा कम हुने सम्भावना रहेको छ।

आज राति मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी क्षेत्रमा पनि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा रातिको समयमा मुसलधारे वा आरीघोप्टे वर्षा हुन सक्ने भएकाले ती क्षेत्रमा बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा नदीमा आकस्मिक बहाव बढ्न सक्ने जोखिम रहेको छ।

वर्षाका कारण जोखिम हुन सक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, नदी तथा खोला आसपास अनावश्यक आवतजावत नगर्न तथा मौसमसम्बन्धी आधिकारिक सूचनाको नियमित जानकारी लिन विभागले आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्