काठमाडौं- सशस्त्र प्रहरी बल (एपीएफ) इन्टेलिजेन्स ब्यूरोले काठमाडौंमा सञ्चालन गरेको विशेष अभियानमा ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा सञ्चालन गरिएको ‘साइलेन्स अपरेशन’मार्फत ट्रामाडोलसहित अन्य लागूऔषध र नगद बरामद गरिएको हो।
आइतबार दिउँसो करिब १२:४५ बजे काठमाडौं महानगरपालिका–चन्द्रागिरी–१५, ढुङ्गेअड्डा क्षेत्रमा खटिएको विशेष टोलीले कीर्तिपुर–९ पागादोबाटो बस्ने ३९ वर्षीय अनिल देउलालाई नियन्त्रणमा लिएको थियो। उनको साथबाट ५० बक्स बराबर १ हजार ५०० फाइल (१५ हजार क्याप्सुल) ट्रामाडोल, एउटा एन्ड्रोइड मोबाइल र बा ७७ प ७८०० नम्बरको स्कुटर बरामद गरिएको सुरक्षा स्रोतले जनाएको छ।
देउलालाई नियन्त्रणमा लिएपछि अनुसन्धानलाई थप विस्तार गर्दै एपीएफको टोलीले चन्द्रागिरी–१४ नयाँ नैकापस्थित उनको डेरामा छापा मारेको थियो। त्यस क्रममा उदयपुर गाईघाटकी २४ वर्षीया सुमित्रा राईलाई पनि पक्राउ गरिएको छ। डेराबाट १ हजार १८८ पिस डाइजेपाम, फेनरागन तथा आईपीपीएल, ३७७ फाइल (३ हजार ७७० क्याप्सुल) ट्रामाडोल, १५० ग्राम पोलेन, विभिन्न मोबाइल सेट तथा १ लाख ३९ हजार १६५ रुपैयाँ नगद बरामद गरिएको जनाइएको छ।
सुरक्षा स्रोतका अनुसार पछिल्लो समय सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्यूरोका प्रमुख डिआइजी दिपेन्द्र शाहको नेतृत्वमा सूचना संकलन, विश्लेषण र फिल्ड अपरेशनलाई थप प्रभावकारी बनाइएको छ। गोप्य सूचनाको सूक्ष्म अध्ययन, निगरानी र अपरेशन टोलीबीचको समन्वयका कारण लागूऔषध तस्करी सञ्जालविरुद्धका कारबाही प्रभावकारी बन्दै गएको स्रोतको दाबी छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरू लागूऔषधको भण्डारण तथा वितरण सञ्जालसँग आबद्ध रहेको आशंका गरिएको छ। बरामद गरिएको लागूऔषध कहाँबाट ल्याइएको थियो र कुन–कुन क्षेत्रमा आपूर्ति हुने गरेको थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। एपीएफले पछिल्लो समय लागूऔषध ओसारपसार र तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै यस्ता विशेष अपरेशनहरू निरन्तर सञ्चालन गरिरहेको जनाएको छ। पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको छ।



