बाढी पहिरोले बीपी राजमार्ग र कान्तिलोकपथ अवरुद्ध, अरनिको राजमार्गमा पनि यातायात प्रभावित

FILE PHOTO

काठमाडौं – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्ग प्रभावित भएका छन्। विशेषगरी बीपी राजमार्ग र कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएका छन् भने अरनिको राजमार्गमा पनि सवारी आवागमन प्रभावित भएको छ।

प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका-३ पाङदुर क्षेत्रमा पहिरो खसेपछि कान्तिलोकपथ पूर्ण रूपमा बन्द भएको छ। यससँगै चापागाउँ–हेटौंडा सडकखण्डमा सवारीसाधन सञ्चालन रोकिएको छ। यस्तै, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खस्नुका साथै रोशी खोलामा पानीको बहाव बढेपछि बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। जोखिमलाई मध्यनजर गर्दै प्रहरीले काभ्रे हुँदै सिन्धुलीतर्फ जाने सवारीसाधनलाई बीच बाटोमै रोकेको जनाएको छ।

उता, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ मा पहिरो खस्नु र भोटेकोशी गाउँपालिका-४ जिरोकिलो क्षेत्रमा सडक भासिनुले अरनिको राजमार्गमा पनि यातायात प्रभावित भएको छ। यसैबीच, धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोला नजिक पृथ्वी राजमार्गमा गएराति खसेको पहिरो भने हटाइएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उक्त सडकखण्डमा अहिले दुईतर्फी सवारी आवागमन सुचारु भएको छ।

प्रहरीले वर्षाका कारण पहिरो र बाढीको जोखिम अझै कायम रहेकाले यात्रा अघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्