काठमाडौं । साविक विजेता फ्रान्सले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार बिहान सम्पन्न पहिलो क्वाटरफाइनलमा फ्रान्सले अफ्रिकी टोली मोरक्कोलाई २–० ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।फ्रान्सको जितमा कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेले एक–एक गोल गरे। खेलको सुरुआतमै फ्रान्सले पेनाल्टीमार्फत अग्रता लिने अवसर पाए पनि एमबाप्पेको प्रहार मोरक्कोका गोलरक्षक यासिन बुनुले उत्कृष्ट रूपमा बचाएका थिए।
पहिलो हाफको २८औँ मिनेटमा मोरक्कोका नौसइर मजराउईले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो। तर बुनुको शानदार बचाउले मोरक्कोलाई तत्काल गोल खानबाट जोगायो।दोस्रो हाफमा भने फ्रान्सले खेलमा पूर्ण नियन्त्रण कायम गर्यो। ६०औँ मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने पाँच मिनेटपछि उसमान डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सको अग्रता दोब्बर बनाए।
त्यसपछि मोरक्कोले खेलमा फर्कने प्रयास गरे पनि फ्रान्सको सुदृढ रक्षापङ्क्ति र गोलरक्षकको उत्कृष्ट प्रदर्शनका कारण गोल फर्काउन सकेन। निर्धारित समयसम्म थप गोल हुन नसकेपछि फ्रान्स २–० को सहज जितसहित सेमिफाइनलमा पुग्न सफल भयो।यस जितसँगै सन् २०१८ को विश्वविजेता तथा साविक उपविजेता फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको दोस्रो क्वाटरफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। उता, मोरक्कोको विश्वकप यात्रा भने क्वाटरफाइनलमै टुङ्गिएको छ।




