अब कर्मचारी सरुवामा भनसुनको अन्त्य, सरकारले लागू गर्‍यो डिजिटल सरुवा प्रणाली

काठमाडौं । कर्मचारी सरुवामा पहुँच, भनसुन र शक्तिकेन्द्रको प्रभावका आधारमा हुने अभ्यास अब अन्त्य भएको छ। सरकारले सरुवा प्रक्रियालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउँदै डिजिटल सरुवा प्रणाली लागू गरेपछि कर्मचारीको सरुवा अनलाइन प्रणालीमार्फत स्वचालित रूपमा हुन थालेको हो।

भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले गत सातादेखि लागू गरेको नयाँ प्रणालीअनुसार कर्मचारीले आफ्नो रोजाइका सम्भावित कार्यालय छनोट गरेपछि त्यहाँ रिक्त दरबन्दी भए प्रणालीले स्वतः सरुवा गर्ने व्यवस्था गरिएको छ। निश्चित कार्यअवधि पूरा भएपछि प्रणालीले नै सरुवाको जानकारी दिने भएकाले अवधि नपुग्दै प्रभाव र दबाबका आधारमा सरुवा हुने अभ्यास पूर्ण रूपमा बन्द भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव धोलकराज ढकालका अनुसार शासकीय सुधारअन्तर्गतको एक सय कार्यसूचीमा समेटिएको कर्मचारी सरुवा प्रणालीलाई प्रविधिमैत्री बनाउने लक्ष्यअनुसार सफ्टवेयरमार्फत अनलाइन सरुवा प्रणाली कार्यान्वयनमा ल्याइएको हो। उहाँले अहिले कर्मचारी सरुवामा कुनै पनि प्रकारको भनसुन वा पहुँच नचल्ने र रिक्त दरबन्दीका आधारमा मात्रै स्वचालित रूपमा सरुवा हुने व्यवस्था गरिएको बताउनुभयो।

डिजिटल प्रणाली लागू भएसँगै कर्मचारी सरुवाका लागि मन्त्रालय धाउनुपर्ने, महिनौँसम्म काठमाडौंमा बस्नुपर्ने तथा शक्तिकेन्द्रको पहुँच खोज्नुपर्ने अवस्था अन्त्य भएको मन्त्रालयको दाबी छ। सहसचिव ढकालका अनुसार नयाँ प्रणालीले सरुवाको प्रक्रियागत ढिलाइ घटाउनुका साथै पारदर्शिता र कर्मचारीको विश्वाससमेत बढाएको छ।

हालसम्म यस प्रणालीमार्फत २७ जना कर्मचारीको सरुवा भइसकेको छ भने करिब ९ सय कर्मचारीले अनलाइनमार्फत सरुवाका लागि आवेदन दिएका छन्।

यससँगै कर्मचारीको डिजिटल प्रोफाइल पनि तयार गरिएको छ। कर्मचारीका व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष रूपमा आबद्ध हुने भएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुने व्यवस्था मिलाइएको छ। कर्मचारीले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी पनि अनलाइनबाटै हेर्न सक्नेछन् भने सरुवासम्बन्धी पत्रहरू समेत प्रणालीबाट स्वचालित रूपमा तयार हुनेछन्।

मन्त्रालयले सफ्टवेयरलाई राष्ट्रिय किताबखाना (निजामती) को प्रणालीसँग आबद्ध गरेको छ। कर्मचारीको योग्यता, अनुभव, विशेष क्षमता, ज्येष्ठता, कार्यरत अवधि र रिक्त दरबन्दीलगायतका विवरणका आधारमा प्राथमिकता निर्धारण गर्ने व्यवस्था गरिएको छ।

राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक श्रवणकुमार पोखरेलले पछिल्ला १५ महिनादेखि कर्मचारीको डिजिटल प्रोफाइल तयार गर्ने काम गरिएको र त्यसकै आधारमा अनलाइन सरुवा प्रणाली कार्यान्वयन गर्न सहज भएको बताउनुभयो। उहाँका अनुसार किताबखानाका अधिकांश सेवा अहिले पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन भइरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्