लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित, ३७ अर्ब ३८ करोडको विनियोजन स्वीकृत

काठमाडौं – लुम्बिनी प्रदेश सभाले आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित गरेको छ। प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत बुधबार बसेको १७औं बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको हो।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सञ्चित कोषबाट सेवा तथा कार्यक्रम सञ्चालनका लागि रकम विनियोजन र खर्च गर्ने सम्बन्धी विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नुभएको थियो। सभामुख तुलाराम घर्तीले निर्णयार्थ पेश गरेको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। बजेटमध्ये ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ चालुतर्फ र २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ पुँजीगततर्फ विनियोजन गरिएको छ।

प्रदेश सरकारले असार १ गते बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो। बजेटमाथि असार २१ गतेदेखि चार दिनसम्म छलफल भएको थियो। छलफलका क्रममा सत्ता र प्रतिपक्षका सांसदहरूले विभिन्न सुझाव र धारणा राखेका थिए भने उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्यले दिनुभएको थियो।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता जोखबहादुर महरा र नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले विशेष समयमा आफ्नो धारणा राख्नुभएको थियो। साथै, सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली सार्कीले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पनि प्रदेश सभामा पेश गर्नुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्