चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचनमा आधाभन्दा बढी मत खसेको छ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार बिहीबार बिहान ८ बजेसम्म २ हजार १ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले मतदान गरिसकेका छन्। महाधिवेशनमा करिब ४ हजार प्रतिनिधि सहभागी रहेका छन्।
केन्द्रीय सदस्यका ९९ पदका लागि बुधबार मध्यराति १२ बजेदेखि विद्युतीय मतदान सुरु गरिएको हो। निर्वाचनमा २ सयभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्।
मतदानमा सहभागी हुने प्रतिनिधिको संख्या धेरै भएकाले अपेक्षाभन्दा बढी समय लागेपछि निर्वाचन आयोगले मतदानको समय थप गरेको छ। संशोधित कार्यतालिकाअनुसार प्रतिनिधिहरूले अब दिउँसो १२ बजेसम्म मतदान गर्न पाउनेछन्।
रास्वपाको विधानअनुसार केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ। यसअघि पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।
महाधिवेशनको निर्वाचन प्रक्रियाप्रति पार्टी कार्यकर्ता तथा प्रतिनिधिहरूको उच्च चासो देखिएको छ भने मतदान केन्द्रमा बिहानैदेखि प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ। निर्वाचन आयोगले निर्धारित समयभित्र मतदान सम्पन्न गरी छिट्टै मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।





