प्रधानमन्त्री बालेन चितवन पुगे, रास्वपाको पहिलो महाधिवेशन आजदेखि

तस्बिरः कृष्ण आचार्य,रासस

चितवन । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन पुग्नुभएको छ। आज दिउँसो २ बजेदेखि सुरु हुने महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ। भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजना गरिएको महाधिवेशनमा देश तथा विदेशबाट झण्डै चार हजार प्रतिनिधिसहित नेता–कार्यकर्ताको सहभागिता रहनेछ। तीन दिनसम्म सञ्चालन हुने महाधिवेशन मंगलबार सम्पन्न हुनेछ।

२०७९ सालमा स्थापना भएको रास्वपाले छोटो समयमै राष्ट्रिय राजनीतिमा उल्लेखनीय सफलता हासिल गर्दै प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ बहुमत प्राप्त गरी सरकारको नेतृत्व गरिरहेको छ। यही कारण पनि पार्टीको पहिलो महाधिवेशनलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।

पार्टीका प्रवक्ता मनिष झाले महाधिवेशनका लागि आवश्यक सम्पूर्ण व्यवस्थापनको काम पूरा भएको जानकारी दिनुभयो। उहाँका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भइसकेको छ। रास्वपाले हाल आफ्नो सदस्य संख्या पाँच लाख पुगेको दाबी गरेको छ।

महाधिवेशनअघि शनिबार बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव पारित गरिसकेको छ। महाधिवेशनको बन्दसत्र उद्योग संघ चितवनको सभाहलमा सञ्चालन हुनेछ। महाधिवेशनले १९ पदाधिकारीसहित १५८ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्नेछ। साथै पार्टीको विधान संशोधन, संगठनात्मक संरचना, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताउनुभयो। रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको भावी राजनीतिक दिशा, संगठन विस्तार र नेतृत्व चयनका दृष्टिले ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्