राष्ट्रपतिद्वारा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन, ऐतिहासिक जात्रा सम्पन्न

FILE PHOTO

ललितपुर – ललितपुरको जावलाखेलमा राष्ट्र प्रमुखको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन गरिएको छ। गुठी संस्थानका पदाधिकारीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भोटो देखाएसँगै नेपालको सबैभन्दा लामो धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथ जात्रा औपचारिक रूपमा सम्पन्न भएको छ।

रथ जावलाखेल पुगेको चौथो दिन आयोजना गरिएको भोटो प्रदर्शन कार्यक्रममा राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन शाह तथा विभिन्न उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। मणिमाणिक्य जडित ऐतिहासिक भोटो अवलोकन गर्न जावलाखेल क्षेत्रमा सर्वसाधारणको उल्लेख्य भीड लागेको थियो। वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको जात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा राखी पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। परम्पराअनुसार रथ जावलाखेल पुगेको चौथो दिन भोटो प्रदर्शन गरिन्छ।

जात्रा सम्पन्न भएसँगै रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मिननाथलाई रथमै राखी पाटनको टङ्गलस्थित मन्दिरमा पुर्‍याइनेछ। यस अवसरमा उपत्यकाका विभिन्न स्थानबाट आएका भक्तजन र सर्वसाधारणले जावलाखेल क्षेत्रमा सामूहिक भोज खाने परम्परा पनि छ। तर जावलाखेलस्थित चिडियाखानाका केही जनावरमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएकाले यस वर्षको भोज कार्यक्रम खेलमैदान क्षेत्रमा मात्रै सीमित भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्