जनकपुरधाम – मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले आज प्रदेश सभामा बजेट प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा वन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभयो।
प्रस्तुत बजेटमध्ये चालू खर्चतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको छ। कुल बजेटमा चालू खर्च ३५.६४ प्रतिशत र पुँजीगत खर्च ६४.३५ प्रतिशत रहेको छ। अर्थमन्त्री भट्टराईले उत्पादन वृद्धि, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार र पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको बताउनुभयो।
बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनमध्ये ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ आन्तरिक राजस्व तथा अन्य आन्तरिक स्रोतबाट जुटाइने उल्लेख गरिएको छ। साथै प्रदेश सरकारले १ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य पनि लिएको छ। प्रदेश सरकारले कृषि उत्पादन वृद्धि, सिँचाइ विस्तार, सडक तथा भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य संस्थाको सुदृढीकरण र शैक्षिक सुधारलाई आगामी आर्थिक वर्षका प्रमुख प्राथमिकता क्षेत्रका रूपमा अघि सारेको जनाएको छ।





