कांग्रेसमा एकताको प्रयास, संस्थापन पक्षद्वारा सातबुँदे सहमति प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गरी पार्टी एकता सुदृढ बनाउन संस्थापन पक्षले पूर्वसभापति शेरबहादुर देउवा तथा डा. शेखर कोइराला समूहलाई सातबुँदे सहमति प्रस्ताव पठाएको छ। गगन थापा पक्षको पहलमा तयार गरिएको उक्त प्रस्ताव पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित विभिन्न नेताहरूलाई पठाइएको हो। प्रस्तावमा कांग्रेस विधानको दफा १७ (२) बमोजिम सम्पन्न विशेष महाधिवेशन, निर्वाचन आयोगले गरेको अद्यावधिक तथा सर्वोच्च अदालतका फैसलालगायत विषयलाई सबै पक्षले आत्मसात गर्नुपर्ने उल्लेख गरिएको छ।

उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रूपमा पठाइएको सातबुँदे प्रस्ताव सार्वजनिक गर्नुभएको हो। गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौंमा विशेष महाधिवेशन सम्पन्न भएको थियो। तर उक्त महाधिवेशनप्रति देउवा पक्षले असहमति जनाउँदै आएको छ। यता कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा छुटेका सदस्यहरूलाई पुनः अवसर दिने निर्णय गरेको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले विभिन्न कारणले समयमै नवीकरण गर्न नसकेका क्रियाशील सदस्यहरूले आगामी असार २० गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरेको हो।

समितिका अनुसार डिजिटल प्रणालीमा रहेका कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये जेठ २८ गतेसम्म ६ लाख ८७ हजार ९३१ जनाको विवरण अद्यावधिक भइसकेको छ। तर पूर्वसभापति शेरबहादुर देउवासहित केही शीर्ष नेताहरूले अझै सदस्यता अद्यावधिक नगरेको जनाइएको छ। देउवा–कोइराला पक्षले गत पुससम्म नवीकरण भएका सबै सदस्यलाई आगामी १५औँ महाधिवेशनमा सहभागी गराउनुपर्ने अडान राख्दै आएको छ। साथै, क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता वितरणको कार्यले महाधिवेशनको मूल कार्यतालिका प्रभावित नहुने गरी समय व्यवस्थापन गर्न केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय पनि गरिएको छ।

पार्टीभित्र बढ्दो गुटगत विवाद र महाधिवेशन केन्द्रित गतिविधिका बीच आएको सातबुँदे प्रस्तावलाई कांग्रेसमा आन्तरिक सहमति र एकता कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्