काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल आज चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्दै हुनुहुन्छ। हालै भारतको तीनदिने भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएका मन्त्री खनाल चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा बेइजिङ जान लाग्नुभएको हो। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आइतबार आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक तथा विकास साझेदारी विस्तार गर्ने र आपसी हितका विविध विषयमा केन्द्रित भएर छलफल हुने बताइएको छ।
भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय सरकारी तथा राजनीतिक नेतृत्वसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी प्रवर्द्धन कार्यक्रममा सहभागी हुँदै चिनियाँ व्यवसायिक समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल नेपाली दूतावासद्वारा आयोजना गरिने स्वागत कार्यक्रममा सहभागी हुनुका साथै चीनमा रहेका नेपाली समुदायसँग समेत भेटघाट र संवाद गर्नुहुनेछ। मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। यसअघि उहाँले जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमण गर्नुभएको थियो।
यसपटकको चीन भ्रमणका क्रममा नेपाली भूमि लिपुलेक क्षेत्र हुँदै भारत र चीनबीच सञ्चालनमा आएको व्यापारिक मार्गबारे नेपालको चासो र धारणा पनि छलफलको विषय बन्न सक्ने अनुमान गरिएको छ। नेपाल–चीन सम्बन्ध, व्यापार, लगानी, पूर्वाधार विकास तथा क्षेत्रीय सहकार्यका विषयमा यो भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ।






