नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा अब निरन्तर सुनुवाइमा

काठमाडौं – नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरिएको चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा अब निरन्तर सुनुवाइमा प्रवेश गरेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले बुधबारदेखि मुद्दाको नियमित सुनुवाइ सुरु गरेको हो। तीन वर्षअघि दायर गरिएको यो मुद्दामा केही प्रतिवादीका तर्फबाट बहस सुरु भइसकेको अदालतले जनाएको छ। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध ठगी, किर्ते, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा २०८० जेठ १० गते मुद्दा दायर गरिएको थियो। यससँग सम्बन्धित दुई पूरक मुद्दासमेत सँगै राखेर सुनुवाइ अघि बढाइएको छ।

जिल्ला अदालतमा मुद्दा दायर भएको तीन वर्षमा ७४ पटक पेसी चढे पनि विभिन्न कारणले अन्तिम सुनुवाइ हुन सकेको थिएन। अदालतका अनुसार अब मुद्दालाई निरन्तर सुनुवाइमार्फत टुंगोमा पुर्‍याउने प्रक्रिया सुरु गरिएको छ। अनुसन्धानका क्रममा पूर्वमन्त्री, सांसद, उच्च सरकारी कर्मचारी तथा बिचौलियासहितका व्यक्तिहरूको संलग्नता खुलेको थियो। उनीहरूले नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा अमेरिका पठाइदिने प्रलोभन देखाएर करोडौं रुपैयाँ असुलेको आरोप छ।

हाल यस प्रकरणका मुख्य प्रतिवादीमध्ये केही धरौटीमा रिहा भए पनि पूर्वउपप्रधानमन्त्री रायमाझी, तत्कालीन गृहसचिव पाण्डे, इन्द्रजित राई, केशव दुलाललगायतका केही प्रतिवादी पुर्पक्षका लागि कारागारमै रहेका छन्। अदालतले अब नियमित सुनुवाइमार्फत बहुचर्चित शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्‍याउने तयारी गरेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्