जिल्ला अधिवेशन सफल बनाउन रवि लामिछानेको आह्वान: ‘अब मबाट हामीमा रूपान्तरण हुने बेला हो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको जिल्ला अधिवेशनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै सबै सदस्यलाई धैर्य, त्याग र समर्पणका साथ सहभागी हुन आग्रह गर्नुभएको छ। आज र भोलि देशभर सञ्चालन हुने जिल्ला अधिवेशनका सन्दर्भमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले अब ‘म’ केन्द्रित सोचबाट ‘हामी’ केन्द्रित संस्कृतिमा रूपान्तरण हुने समय आएको बताउनुभएको हो। उहाँले रास्वपाले प्राप्त गरेको जनमतलाई अझ विस्तार गर्दै राजनीति थप सुसंस्कृत, पारदर्शी र जनमैत्री बनाउन सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो।

“पछिल्लो जनमतलाई अझ विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन हामी सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्छ,” लामिछानेले लेख्नुभएको छ। उहाँले अधिवेशन र महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया नभई पार्टीको विधि, अभ्यास, मूल्य र स्वस्थ राजनीतिक संस्कार निर्माण गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो। यस प्रक्रियाले पार्टीको आगामी यात्रालाई स्पष्ट दिशा प्रदान गर्ने उहाँको विश्वास छ।

रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत वडा र पालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन् भने आज ३७ र भोलि २९ जिल्लामा जिल्ला अधिवेशन सञ्चालन हुँदैछन्। सभापति लामिछानेले पार्टीको सर्वोपरि हितका लागि सक्षम, इमानदार, जनउत्तरदायी र जनमैत्री नेतृत्व आवश्यक रहेको बताउँदै संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक अभ्यासमार्फत नेतृत्व चयन गर्नु नै रास्वपाको राजनीतिक संस्कार भएको उल्लेख गर्नुभयो। उहाँले पार्टीभित्र पद, अवसर र व्यक्तिगत अपेक्षाभन्दा संगठनको हितलाई केन्द्रमा राख्न आग्रह गर्दै तदर्थ जिम्मेवारीलाई स्थायी अधिकारका रूपमा बुझ्ने तथा योगदानको आधारमा पदको दाबी गर्ने प्रवृत्ति पार्टीका लागि घातक हुन सक्ने चेतावनी दिनुभयो।

“चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई समयमै सच्याउनुपर्छ,” उहाँले भन्नुभएको छ। पार्टी जिम्मेवारीलाई भविष्यका संसदीय अवसरसँग जोडेर नेतृत्वका लागि अनावश्यक प्रतिस्पर्धा गर्ने प्रवृत्ति लोकतान्त्रिक प्रक्रियाबाटै नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। लामिछानेले रास्वपाको वर्तमान सफलतामा मतदाताको विवेक, पार्टी सदस्यहरूको समर्पण तथा नयाँ पुस्ताको ऊर्जा र सक्रियताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो। “अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो,” उहाँले भन्नुभएको छ, “त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ। संगठन विस्तार हुँदा ‘म रहन्न कि’ भन्ने सङ्कीर्ण चिन्तालाई त्याग्नुपर्छ।”

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने तय भएको छ। महाधिवेशनमार्फत पार्टीले नयाँ नेतृत्व चयनसँगै भावी राजनीतिक कार्यदिशा तय गर्ने तयारी गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्