भारत पुगे रवि लामिछाने, राजनीतिक र कूटनीतिक चासो बढ्यो

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँचदिने भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन् ।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा गएका लामिछानेलाई नयाँ दिल्लीस्थित विमानस्थलमा भाजपा राष्ट्रिय महासचिव तथा राज्यसभा सांसद अरुण सिंहले स्वागत गरेका हुन् ।

रास्वपाका अनुसार भ्रमणका क्रममा लामिछानेले भारतीय राजनीतिक नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, लोकतान्त्रिक अभ्यास, राजनीतिक सहकार्य तथा क्षेत्रीय चासोका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपालले पनि केही स्थानमा भारतको भूमि अतिक्रमण गरेको अवस्था रहेको भन्ने अभिव्यक्ति दिएको भोलिपल्ट नै लामिछाने भारत पुगेकाले उनको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । उक्त अभिव्यक्तिपछि नेपालमा राजनीतिक बहस र तरंग सिर्जना भएको छ ।

कालापानी, लिपुलेक र सीमा सम्बन्धी विषय पुनः राजनीतिक बहसको केन्द्रमा रहेका बेला सरकारको नेतृत्व गरिरहेको दलका सभापतिको भारत भ्रमणले कूटनीतिक तथा राजनीतिक वृत्तमा थप चासो बढाएको छ ।

रास्वपाले भने भ्रमणलाई नियमित राजनीतिक तथा कूटनीतिक भेटघाटको कार्यक्रमका रूपमा व्याख्या गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्