काठमाडौं । सामुदायिक विद्यालयमा प्राथमिक तहमा विद्यार्थी सङ्ख्या घट्दै र माथिल्लो तहमा बढ्दै गएपछि सरकारले प्राथमिक तहका करिब ६ हजार शिक्षक दरबन्दी निम्न माध्यमिक तह (निमावि) मा स्तरोन्नति गर्ने तयारी गरेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यससम्बन्धी अध्ययन पूरा गरी प्रस्ताव शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयमा पठाएको छ । मन्त्रालयले पनि उक्त प्रस्तावमाथि अध्ययन गरिरहेको जनाएको छ ।
केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेका अनुसार पहिलो चरणमा पाँच हजार ९६५ प्राथमिक तहका दरबन्दीलाई निमावि तहमा स्तरोन्नति गर्ने योजना बनाइएको छ ।“त्यसपछि क्रमशः अन्य दरबन्दी पनि स्तरोन्नतिका लागि मन्त्रालयमा सिफारिस गर्दै जानेछौँ,” महानिर्देशक न्यौपानेले बताउनुभयो ।
पछिल्ला वर्षहरूमा सामुदायिक विद्यालयको प्राथमिक तहमा विद्यार्थी सङ्ख्या घट्दो क्रममा रहेको छ भने माथिल्ला कक्षामा विद्यार्थी सङ्ख्या बढिरहेको छ । तर निजी तथा संस्थागत विद्यालयमा भने तुलनात्मक रूपमा तल्लो तहमा विद्यार्थी बढी र माथिल्लो तहमा कम देखिने गरेका छन् ।
केन्द्रका अनुसार शिक्षक–विद्यार्थी अनुपात नमिल्दा हाल प्राथमिक तहमा करिब २० हजार शिक्षक दरबन्दी आवश्यकताभन्दा बढी देखिएको छ । यही कारण पछिल्ला दुई वर्षदेखि प्राथमिक तहमा स्थायी शिक्षक पदपूर्ति समेत गरिएको छैन ।
हाल प्राथमिक तह (कक्षा १–५) मा एक लाख ४५ हजार ७५३ शिक्षक दरबन्दी रहेका छन् । यस तहमा ३५ लाख ५४ हजार ९०४ विद्यार्थी अध्ययनरत छन् ।
यस्तै कक्षा ६ देखि ८ सम्म ५९ हजार ५५२ शिक्षक दरबन्दी रहेका छन् भने यस तहमा १८ लाख १९ हजार ३६८ विद्यार्थी अध्ययनरत छन् । तथ्याङ्कअनुसार कक्षा १ देखि ५ सम्म एक शिक्षकको भागमा औसत २४ विद्यार्थी पर्छन् भने कक्षा ६ देखि ८ सम्म एक शिक्षकले औसत ३० विद्यार्थी हेर्नुपर्ने अवस्था छ ।
यद्यपि भौगोलिक अवस्थिति र विद्यालयगत वितरणका कारण शिक्षक–विद्यार्थी अनुपात अझै असन्तुलित रहेको केन्द्रले जनाएको छ । यही असन्तुलन हटाउन शिक्षक दरबन्दी पुनरावलोकन तथा पुनर्वितरणको प्रक्रिया अघि बढाइएको हो ।






