पाँचदिने भारत भ्रमणमा रवि लामिछाने, दिल्लीमा भाजपाले गरे स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि भारत पुगेका छन् ।

नयाँदिल्लीस्थित विमानस्थलमा उनलाई भारतीय जनता पार्टी (भाजपा)का महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन् । लामिछाने भाजपा नेतृत्वको निमन्त्रणामा भारत भ्रमणमा गएका हुन् ।

भारत भ्रमणमा सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल तथा प्रदीप आचार्य सहभागी छन् ।

रास्वपाका प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार लामिछानेले जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारत भ्रमण गर्नेछन् । भ्रमणका क्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ ।

दिल्ली भ्रमणपछि लामिछानेले अयोध्याको समेत भ्रमण गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

भेटघाट, छलफल तथा भ्रमणका सम्पूर्ण कार्यक्रमका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको पार्टीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्